विद्यालयको गेटमै जोडियो स्क्यानिङ मेसिन, विद्यार्थी उपस्थित भए/नभएको म्यासेज अभिभावकोमा जाने
फरकधार / २६ भदौ, २०७९
यो सामग्री सेयर गर्नुहोस्

चितवनको भरतपुर महानगरपालिका–१० मा रहेको नारायणी नमुना माध्यमिक विद्यालयले गेटमै परिचयपत्र स्क्यानिङ मेसिन जडान गरेको छ । उक्त मेसिनले विद्यार्थी विद्यालय प्रवेश गरेको र विद्यालयबाट निस्केको म्यासेज अभिभावकमा पुर्याउने गर्दछ । 



आइतबारदेखि विद्यालयले मेसिनको सफल परीक्षण गरेको हो । विद्यालयको गेटमा जडित मेसिनले प्रारम्भिक बाल कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीको परिचयपत्र स्क्यानिङ गरेर मेसिनले विद्यार्थी विद्यालय प्रवेश गरेको र निस्किएको जानकारी अभिभावककोमा पठाउने छ । 



‘विद्यार्थीको परिचयपत्रमा चिप्स जडान गरिएको हुन्छ । मेसिनले उक्त चिप्सको सहायताले विद्यार्थी विद्यालय प्रवेश गर्ने वित्तिकै अभिभावककोमा म्यासेज पठाउँछ । विद्यालय समयपछि पनि विद्यार्थी गेटबाट निस्किएपछि अभिभावककोमा स्वचालित म्यासेज जान्छ । म्यासेजमा विद्यार्थीको नाम र समय उल्लेख हुन्छ,’ विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले फरकधारसँग भने । 



विद्यालयमा करिब ३५ सय विद्यार्थी अध्ययनरत छन् । उक्त सार्वजनिक विद्यालय जिल्लामै नमुना विद्यालयको रुपमा रहेको छ । विद्यार्थी समयमा नआउने, विद्यालय जान्छु भनेर घरबाट हिँडे पनि बीचमै हराउने र विद्यालयबाट निस्किएपछि पनि बाटोमा कतै अल्झिने जस्ता समस्या समाधान गर्न मेसिन जडान गरिएको प्रधानाध्यापक दवाडी बताउँछन् । 



‘विद्यालय छुट्टी भएपछि विद्यार्थी घर नपुगेको भन्दै दैनिक सात/आठ जना अभिभाकको फोन आउँथ्यो । विद्यार्थी विद्यालयबाट निस्केपछि साथीकोमा जाने समस्या बढी देखियो । अब विद्यालयबाट निस्किने बित्तिकै अभिभावककोमा स्वचालित म्यासेज जान्छ । जसले गर्दा अभिभावकले आफ्ना नानीबाबु निस्केको बारेमा जानकारी पाउँछन् । अब विद्यालयमा एकजनाले फोन उठाइराख्नुपर्नै झन्झट हुँदैन,’ दवाडीले भने । 

मेसिन जडान गर्नका लागि अभिभावकले नै सक्रियता देखाएका छन् । ‘एउटा म्यासेजको ५६ पैसा खर्च हुन्छ । दैनिक एक रुपैयाँ १२ पैसा खर्च हुन्छ । वर्षमा २ सय दिन विद्यालय खुल्छ । परिचय पत्र र म्यासेज शुल्कसहित प्रतिविद्यार्थी ३ सय ५० रुपैयाँ अभिभावकले नै जम्मा गर्ने भनेका छन् । त्यहीँ शुल्कमा मेसिन पनि जडान हुन्छ,’ प्रधानाध्यापक दवाडीले जानकारी दिए ।





  • प्रकाशित मिति : भदौ २६, २०७९ आइतबार १७:१३:३२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया