मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान : पटकपटक विज्ञापन आह्वान, नतिजा प्रकाशनमा त्रुटि नै त्रुटि

मधेस प्रदेश सरकारले प्रदेशभित्र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने उद्देश्यले ७ फागुन २०७७ मा प्रादेशिक अस्पताल जनकपुरधामको प्राङ्गणमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय सञ्चालनमा ल्यायो । प्रतिष्ठानको कार्यालय उद्घाटन गर्दै प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने अभियानको पहिलो खुड्किलोको रूपमा प्रतिष्ठान अघि बढेको दाबी गरेका थिए ।  

उनले स्वास्थ्य अवस्था सुधार्न प्रतिष्ठानले पहिलो प्रयास गर्नेसमेत दाबी गरेका थिए । प्रतिष्ठानले दक्ष जनशक्तिमार्फत स्वास्थ्य क्षेत्रमा सुधार गरी जनकपुरधामलाई शिक्षा र स्वास्थ्य उपचारको केन्द्र बनाइने मुख्यमन्त्री राउतले प्रतिवद्धतासमेत जनाएका थिए । तर, पछिल्लोपटक प्रतिष्ठानका पदाधिकारीको गल्तीका कारण प्रतिष्ठानभित्रका प्रशासनिक कामहरूमा व्यापक गडबडी देखिन थालेको छ ।

प्रतिष्ठानले पटकपटक विज्ञापन गरेर स्थगित गर्दै आएको आरोप लगाइएको छ । मुटुरोग विशेषज्ञ डा. अजय मिश्राले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको विज्ञापनको अवस्था देख्दा सो ठाउँ अनियमितताले भरिएको स्पष्ट भएको बताए । 

‘पछिल्लो पटक प्रतिष्ठानले विभिन्न पदका लागि विज्ञापन आह्वान गर्दा कति सिटमा कति जनाको माग थियो त्यो पनि खुलाइएन । प्रशासनिक गल्तीहरू व्यापक देखिएको छ,’ उनले भने । मिश्राले प्रतिष्ठानका प्रशासनिक कर्मचारीले  फाराम बुझ्ने बेलामा पनि न्यूनतम प्रक्रिया पूरा नगरेको आरोप लगाए । 

प्रतिष्ठानले पछिल्लोपटक जनरल सर्जरी विभागमा विज्ञापन नम्बर–३८-०७९-८० मा ३ वटा सिटका लागि विज्ञापन आह्वान गरे पनि २० भदौको नतिजा प्रकाशन गर्दा ४ जनालाई उत्तिर्ण गरेको थियो ।



पहिलोपटक २० भदौको नतिजा प्रकाशन गर्दा प्रोफेसर डा. सुधीरकुमार सिंह र डा. राकेशकुमार पण्डित तथा असिस्टेन्ट प्रोफेसर डा. विनयकुमार साह र डा. ध्रुवनारायण साहको नाम निकालिएको थियो ।



जबकी १ साउनमा प्रकाशित सूचनाअनुसार सो पदमा माग संख्या ३ जना मात्रै थियो । त्यसपछि डा. मिश्राले विरोध गर्दा ५ दिनपछि २० भदौमा डा. ध्रुवनारायण साहको नाम वैकल्पिकमा राखियो ।  

डा. मिश्राले प्रोफेसर इन मेडिसिनमा आफूले फारम भरे पनि आफ्नो ठाउँमा एमडी एमएस नगरेको र काउन्सिलमा पनि एमडी एमएस दर्ता नभएकाले डा. आरपी दासलाई छनोट गरिएको बताए । 

विज्ञापन एउटा पदमा आह्वान हुँदा नाम अर्कैमा सिफारिस भएकोप्रति मेडिसिन विभागका डा. रविरञ्जन प्रधानले पनि आपत्ति जनाएका छन् । प्रोफेसर बन्न एमडी अनिवार्य रहेको बताउँदै मेडिसिन विभागमा एसोसिएट प्रोफेसरमा फारम भरेका डा. कृष्णकुमार साहको नाम असिस्टेन्ट प्रोफेसरमा निस्केको गुनासोसमेत सुनाए । 

उनले आफूले सबै प्रक्रिया पुर्याए पनि आफ्नो नाम वैकल्पिकमा राखिएको गुनासो गरे । डा. प्रधानले सरकारी संस्था नियमानुसार चल्नुपर्ने बताएका हुन् । यस सम्बन्धमा प्रतिष्ठानका प्रवक्ता डा. रामनरेश पण्डितले प्रतिष्ठानमा सामान्य प्रशासनिक त्रुटि भएको हुनसक्ने स्वीकार गरे । उनले प्रशासनिक काममा थोरै त्रुटि भए पनि आफूहरूले विधि, नियम र प्रक्रियाअनुसार नै सबै काम गरिरहेको दाबी गरेका छन् ।

  • प्रकाशित मिति : भदौ २६, २०७९ आइतबार १७:४७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया