चोलेन्द्रले भने– पूर्वन्यायाधीश समाज भनेको मण्डले

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पूर्वन्यायाधीश समाजलाई मण्डले भएको टिप्पणी गरेका छन् ।

आइतबार महाअभियोग सिफारिस समितिमा बयान दिँदै उनले पूर्वन्यायाधीश समाजलाई मण्डले न्यायाधीश समाजको संज्ञा दिएका हुन् । उनले यसको नेतृत्व नै मण्डलेले गरेको बताएका छन् ।

यतिमात्र होइन, यसलाई बन्द गर्नु पर्ने माग पनि उनले राखेका छन् । 

यसअघि ५ कार्तिक २०७८ मा पूर्वन्यायाधीश समाजले चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै विज्ञप्ति निकालेको थियो । पूर्वन्यायाधीश समाजले त्यति बेला चोलेन्द्रले राजीनामा नदिएको खण्डमा प्रतिनिधिसभामा महाअभियोग ल्याउनु पर्ने पनि बताएको थियो ।

आइतबार बयानका क्रममा जबरालाई पूर्वन्यायाधीश, नागरिक समाज सबैले प्रधानन्यायाधीशको काममा गम्भीर प्रश्न खडा गरेको, नेपाल बारले आन्दोलन गरेको अवस्थामा महाअभियोग अति आवश्यक भएको आरोपबारे प्रश्न सोधिएको थियो ।

चोलेन्द्रले बयानमा पूर्वन्यायाधीश समाजलाई मण्डले न्यायाधीश समाजको संज्ञा दिँदै त्यसलाई मण्डलेले नेतृत्व गरेको भन्दै भनेका छन्, ‘जस्तो टोपबहादुर सिंह, हिजोको मण्डले हो । उसले नेतृत्व गरेको छ । त्यसपछि ९पवनकुमार० ओझाजी, त्यसपछाडि सबै गर्ने चाहिँ घनघोर मण्डले भनेको शम्भु खड्का हो ।’



उनले भनेका छन्, ‘यो पूर्वन्यायाधीश समाज र न्यायाधीश समाज भनेको चाहिँ हिजोको नेविसंघ र मण्डलेजस्तै हो । पूर्वन्यायाधीश समाज भनेको मण्डले समाज हो । मण्डले समाज भनेको मण्डलेले नै नेतृत्व गरेको छ । हिजोका मण्डलका जति पनि न्यायाधीशहरु पछि न्यायाधीश भएका थिए, उनले नेतृत्व गरेको छ । जस्तो टोपबहादुर सिंह, हिजोको मण्डले हो । उसले नेतृत्व गरेको छ । त्यसपछि ओझाजी, अहिले उपाध्यक्षले लेखु भएको छ ,। अस्ति पनि विज्ञप्ति उजुरी हाल्नुभयो । त्यसपछाडि सबै गर्ने चाहिँ घनघोर मण्डले भनेको शम्भु खड्का हो । हामी न्यायाधीशहरु बस्दा पनि यो चाहिँ ९हास्दै० मण्डले न्यायाधीश समाज हो भन्थ्यौं । त्यसैले उसले विरोध गर्नु स्वभाविक हो । त्यसमा मेरो केही छैन ।’

उनले थपे, ‘अस्ति पनि प्रधानन्यायाधीश सुशीलाजीले मेरो यहाँ बयान पछाडि इन्टरभ्यू दिनुभएको थियो, यत्रो वर्ष हामी न्यायपालिकामा भइसकेपछि त्यो न्यायपालिका सप्रियो विग्रियो भने ऊ लाग्छ नि । त्यसमा हामीलाई पनि चित्त दुख्छ नि, त्यसमा हामी सहभागी हुनु स्वभाविक हो नि भन्नुभयो । यत्ति हो मैले भन्न खोजेको, पूर्व भएपछि पूर्वमै बस्नुपर्ने, उहाँहरु मध्यमै बस्न खोज्नुहुन्छ ।’



उनले थपेका छन्, ‘यो न्यायपालिकामा हेर्ने भनेको तीन चिज हो, एउटा मुद्धामा इन्ट्रेस्ट, एउटा न्यायाधीश नियुक्तिमा इन्ट्रेस्ट, एउटा न्यायाधीश र कर्मचारी सरुवामा इन्ट्रेस्ट । यो भन्दा बढ्ता केही होइन । त्यसले गर्दा यही भूमिकामा रहिरहुँ भन्ने उहाँहरुको हो । त्यही आधारमा बारको विरोध भएपछि न्यायाधीश समाजको मिटिङ बस्यो, पूर्व प्रधानन्यायाधीशहरुले विज्ञप्ति निकाल्यो सबै आइसकेकै छ । पूर्व प्रधानन्यायाधीश भन्नेले सबै छैन, चार जना हुनुहुन्छ । उहाँहरुले पटकपटक निकाल्नु भएको छ, मेरोमा पनि निकाल्नुभएको छ ।’

उनले बयानको क्रममा पूर्वन्यायाधीश समाज भनेको मण्डले समाज भएको र यसलाई महत्त्व दिन नहुने पनि बताएका छन् । 
 

 

  • प्रकाशित मिति : भदौ २६, २०७९ आइतबार २१:२४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया