प्रदेश सरकारले बाँडेका एम्बुलेन्स नै बिरामी, पटकपटक बनाउँदा पनि बिग्रिएपछि नयाँ किन्ने तयारी

ग्रामिण भेगका सर्वसाधारणको स्वास्थ्यमा सहज पहुँचका लागि सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षअघि विभिन्न जिल्लामा एम्बुलेन्स वितरण गर्यो । केही समय ती एम्बुलेन्समार्फत नागरिकले सेवा पनि पाए । तर, आवश्यक स्याहार नहुँदा प्रदेश सरकारले वितरण गरेका एम्बुलेन्स अहिले आफैं ‘बिरामी’ परेका छन् ।  

सुदूरपश्चिम सरकारले बझाङको रायल प्राथमिक स्वास्थ्य केन्द्र र बैतडीको पञ्चेश्वर गाउँपालिकालाई एम्बुलेन्स वितरण गरेको थियो । तर, ती एम्बुलेन्स बिरामी बोक्नभन्दा बढी समय बिग्रिएर थन्किने गरेका छन् । बझाङको रायल प्राथमिक स्वास्थ्य केन्द्रसँग भएको एम्बुलेन्स पनि अहिले बाटोमा नै बिग्रिएर थन्किएको छ ।

पटकपटक बिग्रिने समस्याका कारण एम्बुलेन्सकै कारण गाउँपालिकाले हैरानी खेप्नु परेको छ । गाउँबाट बिरामी बोक्दा एम्बुलेन्स बाटोमै बिग्रने गरेको छ । पछिल्लोपटक पनि उक्त एम्बुलेन्स बिरामीलाई धनगढी लैजानेक्रममा बीच बाटोमै बिग्रियो । 

कैलालीको चुरे गाउँपालिकाको फल्टुडे भन्ने स्थानमा उक्त एम्बुलेन्स बिग्रिएको केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बोहराले बताए । ‘दुई साता जति भयो, बिरामी लिएर जाँदै गर्दा बाटोमा नै एम्बुलेन्स बिग्रिएको छ । त्यसलाई मर्मत गर्नका लागि मिस्त्री र सामान भारतबाट ल्याउनुपर्ने भएका कारण मर्मतमा ढिलाइ भएको छ,’ उनले भने ।  

एम्बुलेन्स बिग्रिँदा आवश्यक पार्टपुर्जा नपाइने भएका कारण पनि समयमै मर्मत गर्न नसकिएको केदारस्युँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्यायले बताए । ‘राम्रोसँग चलेको पनि छैन, चलाउँदा बाटोमै बिग्रने गरेको छ । त्यसमा बस्ने बिरामीका कुरुवा पनि बिरामी हुने गरेका छन्, हामी अर्को एम्बुलेन्स खरिद गर्ने योजनामा छौँ,’ उनले भने ।

प्रदेश सरकारले बैतडीको पञ्चेश्वर गाउँपालिकालाई पनि एम्बुलेन्स हस्तान्तरण गरेको थियो । गाउँपालिकाको कुलाउ स्वास्थ्य चौकीले प्रयोग गर्दै आएको प्रदेश सरकारबाट प्राप्त एम्बुलेन्स पनि एक वर्षदेखि थन्किएको छ । धनगढीमा मोटरसाइकललाई ठक्कर दिएको भन्दै उक्त एम्बुलेन्स प्रहरीको नियन्त्रणमा पुगेको थियो । तर, अहिलेसम्म पनि उक्त एम्बुलेन्स मर्मत गरेर सञ्चालन गर्नेतर्फ कसैको ध्यान जान सकेको छैन । 



गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले भने, ‘एम्बुलेन्सको नाममा कवाडलाई एम्बुलेन्सको स्वरूप दिएर प्रदेश सरकारले स्थानीय सरकारलाई ठगेको छ । कामै नलाग्ने एम्बुलेन्समा पटकपटक खर्च गरेर मर्मत गर्नुभन्दा त्यसलाई मर्मत गरेर प्रदेश सरकारलाई नै फिता गर्ने योजनामा छौँ ।’ 



प्रदेश सरकारले करोडौं रकम खर्च गरेर प्रदेशको कञ्चनपुरसहित पहाडी जिल्लालाई १६ वटा एम्बुलेन्स वितरण गरेको थियो । तर, सरकारले बाँडेका एम्बुलेन्स प्रायः बिग्रिएर थन्किएको अवस्थामा भेटिन्छन् । पुरानो र काम नलाग्ने गाडीलाई मर्मत गरेर एम्बुलेन्स बनाएर पालिकालाई हस्तान्तरण गरेकाले पनि पटकपटक बिग्रिने गरेका सर्वसाधारण बताउँछन् । 
 
पुरानो ट्रकलाई एम्बुलेन्स बनाएर वितरण गरेको आरोप खेप्दै आएको प्रदेश सरकार यसतर्फ गम्भीर बन्न सकेको छैन । १६ वटा एम्बुलेन्समध्ये कुनै पनि नियमित सेवा प्रवाहमा देखिएका छैनन् । त्यसका पार्ट पुर्जासमेत सहज रूपमा नपाइने हुँदा थप समस्या हुनेछ । 

पटकपटक बिग्रिने समस्या दोहरिएपछि स्थानीय तहहरू प्रदेश सरकारलाई नै एम्बुलेन्स फिर्ता गर्ने तयारीमा छन् । यता सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले पनि त्यो एम्बुलेन्स नभएर ट्रक नै भएको स्वीकार गरे । 

‘त्यो बेलाको मन्त्रिमण्डलले खरिद गरेको थियो । त्यो एम्बुलेन्स पनि होइन, ट्रक हो । म चाहिँ बजेटको जुगाड गरेर नयाँ एम्बुलेन्स वितरण गर्ने योजनामा छु,’ मन्त्री बोहराले भने ।

  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार ११:४३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया