डा. केसीले धनगढीबाट सुरू गरे २० औं सत्याग्रह

चिकित्सा शिक्षामा सुधारको माग राख्दै आएका प्राध्यापक डा. गोविन्द केसीले कैलालीको धनगढीबाट २० औं सत्याग्रह सुरु गरेका छन् । 

धनगढीको एलएनचोकस्थित कृष्ण मन्दिरको धर्मशालामा केसीले विभिन्न ७ बुँदे मागसहित सोमबार सत्याग्रह सुरु गरेका हुन् ।

सरकारले आफ्ना मागहरुप्रति व्वबेस्ता गरेकाले सत्याग्रह गर्न बाध्य भएको उनले बताएका छन् । उनले माग पूरा गर्न सरकारलाई दुई साताको अल्टिमेटम दिएका थिए । 

‘प्रधानमन्त्रीकै गृह क्षेत्रमा सत्याग्रह बसेपछि माग सम्बोधन हुन्छ कि भनेर धनगढी पुगेको हुँ,’ उनले भने ।
सत्याग्रह सुरु गर्दै गर्दा उनी भक्कानिएका थिए । 

‘चिकित्सा क्षेत्रलाई राज्यले बेवास्ता गरेको छ, निजी संस्थाहरु च्याउ उम्रेझैँ भएका छन्,’ उनले भक्कानिँदै भने, ‘भएका सरकारी स्वास्थ्य संस्थालाई पनि राजनीतिक भर्तीकेन्द्र बनाइएको छ ।’

सत्याग्रह बस्ने स्थलमा डा. केसीले सिसिटिभी जडानसमेत गरिदिन आग्रह गरेका छन् । स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाउन माग गर्दै आएका छन् । 



जनसंख्याको वृद्धिअनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गर्न पनि उनको माग रहेको छ ।

संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरे लगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गर्न उनले माग गरेका छन् । 



सरकारले तोकेको सूची अनुसारका सबै निःशुल्क औषधिहरू आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गर्न, स्थानीय निकायको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था गर्न, देशभर दिगो स्वास्थ्य सेवा पुर्याउनका लागि ठूलो संख्यामा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीको नियुक्ति गर्नुपर्ने लगायत उनका माग रहेका छन् ।

  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार १९:११:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया