नयाँ दिल्ली– ट्रिपल तलाकलाई अपराध मान्ने विधेयक लोकसभाबाट पास भएको केही हप्तापछि भारतको उत्तर प्रदेशका एक पुरुषले आफ्नी पत्नीलाई फोनबाटै ‘तलाक’ दिएका छन् । घर फर्कन १० मिनेट ढिला गरेको झाेकमा उनले पत्नीलाई तलाक दिएका हुन् ।
ट्रिपल तलाक मुस्लिमहरुको केही सम्प्रदायमा प्रचलनमा रहेको सम्बन्धविच्छेदको प्रक्रिया हो, जसमा पतिले तीनपटक ‘तलाक’ भनेपछि तत्कालै पति–पत्नीबीच सम्बन्धविच्छेद भएको मानिन्छ ।
‘म आफ्नी बिरामी हजुरआमालाई भेट्न माइत गएकी थिएँ । मेरा पतिले मलाई आधा घन्टाभित्र फर्किन भनेका थिए,’ पीडित महिलालाई उद्धृत गर्दै इन्डिया टुडेले अनलाइन संस्करणमा लेखेको छ, ‘म केवल १० मिनेट ढिला भएकी थिएँ । उनले मेरो भाइको नम्बरमा फोन गरे, र मलाई तीनपटक तलाक भने ।’
ती महिलाले आफ्ना पति तथा सासू–ससुराले मागअनुसार दाइजो नल्याएको भन्दै आफूलाई पिट्ने गरेको समेत आरोप लाइन् । उनीहरुकै दबाबमा आफूले गर्भपतनसमेत गर्नुपरेको उनले बताइन् । आफ्ना आमाबुबा गरिब भएकाले दाइजोमा केही दिन नसकेको र त्यसका कारण आफूले यातना सहनुपरेको उनको दुःखेसो छ ।
पीडित महिलाले सहयोगका लागि सरकार गुहारेकी छन् । ‘अब मलाई न्याय दिलाउने दायित्व सरकारको हो,’ उनले भनिन्, ‘नत्र म आत्महत्या गर्छु ।’
भारतीय मिडियाका अनुसार उनको एरियाका पुलिस अफिसर अजय भदौरियाले अनुसन्धान गरी समस्या समाधानमा कदम चाल्ने बचन दिएका छन् ।
गत २७ डिसेम्बरमा लोकसभाले ट्रिपल तलाकलाई अपराध मान्ने विधेयक पास गरेको थियो । जसमा, यसरी तलाक दिने पतिलाई ३ वर्षको जेल सजाय हुने व्यवस्था छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।