चिनियाँ नेता लीले भेटे अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालको औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ । भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उनीहरूबीच संसदीय प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय भेटवार्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको हो । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार काठमाडौं आइपुगेका हुन् ।

सोही दिन सभामुख सापकोटा र अध्यक्ष लीले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । अध्यक्ष लीले यही भदौ ३० गतेसम्म गर्ने चार दिने औपचारिक भ्रमणका क्रममा यही भदौ २९ गते बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग अध्यक्ष लीले आज अपराह्न शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यस्तै नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेता लीले आज भेट गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग पनि अध्यक्ष लीको आज भेटवार्ता हुनेछ ।

चिनियाँ प्रतिनिधिमण्डलले भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनः निर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । अध्यक्ष लीको नेतृत्वमा ६ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।  





  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार १०:३७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया