बाढी र पहिरोबाट प्रभावितको लागि सहायता सामग्री लिएर नेपाल एअरलाइन्सको जहाज पाकिस्तानतर्फ उडेको छ ।
नेपाल एअरलाइन्सको चार्टर्ड जहाज पाकिस्तानको कराचीका लागि उडेको हो । उडानमा परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालको नेतृत्वमा कर्मचारी, सञ्चारकर्मी र स्वास्थ्यकर्मी समेत गरी १३ सदस्यीय टोली सहभागी छ ।
विमान भारतको हवाईमार्ग हुँदै पाकिस्तानको जिन्हा अन्तर्राष्ट्रिय विमानस्थलमा राहत सामग्री छाडेर आजै काठमाडौं फर्किने मन्त्रालयले जनाएको छ । काठमाडौं–कराची एकतर्फी उडान समय पौने तीन घण्टा हाराहारीको रहेको नेपाल एअरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
अघिल्लो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पाकिस्तानका लागि २ करोड रुपैयाँ बराबरको राहत सामग्री प्रदान गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार परराष्ट्र मन्त्रालयले निगमको वाइडबडी विमान चार्टर्ड गरेको हो ।
गत दुई महिनादेखिको वर्षाका कारण आएको बाढीपहिरोले पाकिस्तानमा १ हजार ४ सयभन्दा धेरैको मृत्यु र ठूलो संख्यामा घाइते भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।