भंगहा नगरपालिकाका कर्मचारीमाथि उपप्रमुख र वडाध्यक्षको दुर्व्यवहार

महोत्तरीको भंगहा नगरपालिकाका प्रशासन, योजना तथा अनुगमन प्रमुख विजय कुमार यादवमाथि कार्यकक्षमै दुर्व्यवहार गरिएको भन्दै कर्मचारीहरू आन्दोलित भएपछि सेवा प्रवाह प्रभावित भएको छ । कर्मचारीहरू आन्दोलित भएपछि विगत ८ दिनदेखि नगरपालिकाका सेवाग्राहीहरू मारमा परेका हुन् ।

गत भदौ २० गते सोमबार नगर उपप्रमुख शान्ति कुमारी सिंहको नेतृत्वमा नगरपालिकामा कर्मचारीलाई कामकाज गर्न नदिई ताला लगाउन खोज्दा कर्मचारी र उपप्रमुखबीच भनाभन भएको थियो । 

सोही क्रममा उपप्रमुखसँगै पुगेका वडा नम्बर–४ का वडाध्यक्ष गणेश महतो र कार्यपालिका सदस्य विजय मण्डलले प्रशासन, योजना तथा अनुगमन प्रमुख विजय कुमार यादवलाई गालीगलौज गर्नुका साथै हातपातसमेत गरेका थिए । त्यसपछि सोही दिनदेखि कर्मचारीहरू नगर कार्यपालिकाको कार्यालयलगायत ९ वटै वडा कार्यालयको कामकाज बन्द गरी आन्दोलित भएका छन् । 

उपप्रमुख सिंह, वडाध्यक्ष महतो र कार्यपालिका सदस्य मण्डलले यथाशीघ्र नगर सभामा गर्नुपर्ने माग गर्दै कर्मचारीमाथि जाइ लागेको प्रशासकीय अधिकृत श्रवण कुमार साहले बताए । उनले नगर सभा नगर प्रमुखले आह्वान गर्नुपर्ने विषय रहेको र यसमा कर्मचारीको कुनै संलग्नता नरहने भएकोले नगर सभाको विषयमा कर्मचारीलाई हातपात गर्नु उचित नरहेको बताए । 

उनले वडाध्यक्ष महतोले यसअघि पनि लेखा अधिकृत रामेश्वर प्रसाद घिमिरेसँग विवाद गरेको गुनासो गरे । लेखा अधिकृत घिमिरेका साथै वडा नम्बर–४ स्थित आधारभूत स्वास्थ्य केन्द्र र स्वास्थ्य शाखाका कर्मचारीहरू समेतलाई कार्यकक्षमा काम गरिरहेको बखत वडाध्यक्ष महतोले पटक पटक कार्यकक्षमा गई अभद्र व्यवहार गर्दै जथाभाबी गालीगलौज तथा कार्यालयको सम्पत्तिसमेत तोडफोड गरेको उनले बताए । 

नगर प्रमुखमा पराजित विजय मण्डल र गणेश प्रसाद महतोले नेपाली काँग्रेस भंगहा नगर कमिटीको फेसबुक पेजसमेत प्रयोग गरी सम्पूर्ण कर्मचारीहरूप्रति भ्रामक भ्रम फैलाएको र  कर्मचारीलाई बदनियत पूर्ण तरिकाले अफवाह फैलाएको आरोपसमेत उनले लगाएका छन् । 



नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरूको जिउ ज्यानको उचित सुरक्षाको प्रत्याभूति गराई सहज रूपमा कार्य गर्ने वातावरण सिर्जना गर्न र सो निन्दनीय कार्य गर्ने वडाध्यक्ष महतो उपर हदैसम्मको कारबाही गर्न भंगहा नगरपालिका तथा प्रहरी प्रशासनसँग कर्मचारीहरूले माग गरेका छन् । 

यता, नगरपालिकाको आन्तरिक विवादका कारण वडा कार्यालयहरू पनि बन्द हुँदा अत्यावश्यक काम गराउन जाने सेवाग्राहीहरू काम नै नगराई खाली हात घर फिर्ता हुन बाध्य भएका छन् । यससम्बन्धमा उपप्रमुख शान्ति कुमारी सिंहसँग बुझ्न खोज्दा उनले आफू काम विशेषले विराटनगरमा रहेकोले अहिले कुराकानी गर्न नसक्ने बताएकी छन् ।



  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार १६:४९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया