राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको अवस्था र व्यवस्थामा परिवर्तन गर्न नेतृत्व हस्तान्तरण प्रमुख राजनीतिक मुद्दा बनाउनुपर्ने बताएका छन् ।
राप्रपाले आज बेनीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले राजनीतिक नेतृत्व हस्तान्तरणविना परिवर्तन र विकास सम्भव नभएको टिप्पणी गरे ।
अवसर पाइसकेका र परीक्षण भइसकेका नेतृत्वबाट देशको समस्या समाधानको सम्भावना नरहेको दाबी गर्दै उनले भने, ‘पुराना नेतृत्वसँग सुध्रने र सक्किने मात्र विकल्प बाँकी छ । असफल नेतृत्वलाई अवसर दिँदा नागरिकले दुःख पाएका हुन् ।’
लिङ्देनले गत स्थानीय तह चुनावमा धरान र काठमाडौंका नागरिकले ठूला दलको विकल्प रोजेर सच्चिने सन्देश दिएको बताए । राप्रपाको पछिल्लो महाधिवेशनबाट नेतृत्व हस्तान्तरणको थिति बसाएको उनको भनाइ छ ।
कार्यक्रमका वक्ताहरुले पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको व्यवस्था, पहिचानका लागि धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने बताएका थिए । कार्यक्रममा राप्रपाका नेता भीमप्रसाद गौचन, जगतप्रसाद गौचनलगायतको सहभागिता थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।