साफ यू-१७ च्याम्पियनसिप : यस्तो छ भारतविरुद्ध नेपालको इतिहास

श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत खेल्दै छन् । यी दुई टोलीबीचको फाइनल भिडन्त राति सवा ८ बजेदेखि कोलम्बोस्थित रेस कोर्स ग्राउन्डमा सुरु हुनेछ । 

नेपाल समूह विजेताको रूपमा फाइनलमा पुगेको हो । समूह चरणमा नेपालले दुईवटै खेलमा जित हात पार्‍यो । समूह चरणमा नेपालले भुटानलाई २–१ र भारतलाई ३–१ ले हरायो । सेमिफाइनलमा नेपालले आयोजक तथा समूह ‘बी’ को उपविजेता श्रीलंकालाई ६–० गोल अन्तरले पाखा लगाउँदै फाइनलमा स्थान बनायो ।

अपराजित रहेको नेपाल उच्च मनोबलमा छ । नेपालको लक्ष्य भारतलाई हराउँदै उपाधि जित्नु हुनेछ । भारत समूह चरणमा बेहोरेको हारेको बदला लिँदै उपाधि हात पार्ने प्रयासमा छ । 

भारतले समूह चरणमा भुटानलाई ३–० ले हराउँदा नेपालसँग ३–१ ले पराजित भयो । सेमिफाइनलमा उसले समूह ‘बी’ को विजेता बंगलादेशविरुद्ध २–१ को रोमाञ्चक जित हात पार्दै उपाधि भिडन्त पक्का गरेको हो ।  

साफ यू–१७ को नाममा पहिलो पटक आयोजना भइरहेको यो प्रतियोगितालाई यसअघि यू–१६ र १५ को नामबाट सञ्चालन गरिएको थियो । पहिलोपटक सन् २०११ मा साफ यू–१६ च्याम्पियनसिपका रूपमा आयोजना भएको प्रतियोगिताको पछिल्लो संस्करण २०१९ मा यू–१५ उमेर समूहमा आयोजना गरियो ।

जारी प्रतियोगिताअघि नेपाल र भारतबीच आठ खेलमा प्रतिस्पर्धा हुँदा सबै खेल भारतले आफ्नो पक्षमा पारेको थियो ।  



कस्तो छ नेपाल र भारतबीचको विगत?

यी दुई टोलीले पहिलो पटक २०११ मा साफ यू–१६ च्याम्पियनसिपको सेमिफाइनलमा एक अर्काको सामना गरेका थिए । सो खेल भारतले ट्राइब्रेकरमा ४–२ ले आफ्नो पक्षमा पार्‍यो ।



पाकिस्तानमा भएको प्रतियोगिताको सेमिफाइनल निर्धारित ९० मिनेट र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो । 

२०१३ मा घरेलु मैदानमै भएको साफ यू–१६ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग १–० ले पराजित हुन पुग्यो ।  २०१५ मा बंगलादेशमा भएको साफ यू–१६ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले १–० को हार बेहोरेको थियो । 

सन् २०१७ मा नेपाल घरेलु मैदानमै साफ यू–१५ च्याम्पियनसिपअन्तर्गत भारतसँगका दुवै खेलमा पराजित भयो । नेपालले समूह चरण तथा फाइनलमा समान २–१ को हार बेहोरेको थियो । 

२०१८ मा पनि नेपाल घरेलु मैदानमै साफ यु–१५ च्याम्पियनसिपअन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा १–० ले पराजित भयो । सन् २०१९ मा सिंगल राउण्ड रोबिनका आधारमा खेलाइएको साफ यू–१५ च्याम्पियनसिपमा नेपाल र भारत दुईपटक आमनेसामने भएका थिए । 

भारतमै भएको प्रतियोगिताको समूह चरणमा नेपालले ५–० को हार बेहोर्न पुग्यो । समूह चरणपछि भारत शीर्ष र नेपाल दोस्रो स्थानमा रहँदै उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । फाइनलमा नेपाल ७–० को फराकिलो अन्तरले पराजित भयो । 

  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार ११:२४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया