नवौं राष्ट्रिय प्रतियोगिता: पुरुष क्रिकेटमा कर्णालीले गण्डकीलाई हरायो
फाइल तस्बिर

नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको पुरुष क्रिकेटमा कर्णाली प्रदेशले जित हात पारेको छ । कर्णालीले आज सम्पन्न समूह ‘ए’अन्तर्गतको खेलमा गण्डकी प्रदेशविरुद्ध ८ रनको जित हात पारेको हो ।

९४ रनको लक्ष्य पछ्याएको गण्डकीले १३ ओभर नै ब्याटिङ गरे पनि  ९ विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । वर्षाका कारण टसमा ढिलाइ भएकाले खेललाई १३ ओभरमा झारिएको हो । 

गण्डकीका लागि सन्दीप क्षेत्रीले ३१ बलमा चार छक्का र एक चौकासहित सर्वाधिक ४९ रनको योगदान दिए । अनिल गुरुङले १४ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

कर्णालीका दिनेश अधिकारीले तीन तथा प्रकाश जैसी र अनुज चुनाराले दुई/दुई विकेट लिँदा दुई विकेट रन आउटका रुपमा प्राप्त भयो । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको  कर्णालीले निर्धारित  १३ ओभरमा ७ विकेट गुमाएर ९३ रन जोडेको थियो । 

कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक १९, विपिन रावल र सुवास एय्यरले १३/१३ तथा सुमित बुढाथोकीले अविजित १२ तथा दिनेश अधिकारी ले १२ रन जोडे । गण्डकीका अमृत गुरुङले चार तथा चन्द्र पौडेल, विपिन खत्री र सुवास भण्डारीले एक–एक विकेट लिए । 

जितसँगै पाँच खेलमा ६ अंक जोड्दै तेस्रो स्थान रहेको कर्णालीले सेमिफाइनल सम्भावनालाई जीवितै राख्दा पराजित गण्डकीले भने समान खेलबाट चार अंकका साथ चौथो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ । 





  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार १३:३४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया