दुई कदम पनि हिँड्न नसक्ने वृद्धले टिकट मागेर हैरान माधव नेपाल, नदिए बेहोस हुन्छन् कि भन्ने चिन्ता
फाइल फाेटाे

 

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टीभित्र गाह्रो भइरहेको बताएका छन् ।

अध्यक्ष नेपालले नगरे पनि हुन्थ्यो नि भन्नेहरूले पनि निर्वाचनमा टिकट लिनका लागि चर्को दाबी गरिरहेको उल्लेख गर्दै त्यसको व्यवस्थापन गर्न पार्टीलाई समस्या भइरहेको बताएका हुन् । 

बुधबार काठमाडौंमा आयोजित पार्टीनिकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले उठेर दुई कदम पनि हिँड्न नसक्ने वृद्धले समेत टिकटको आकांक्षा राखेको बताए । उनले ती आकांक्षीमा टिकट नपाउँदा बेहोस हुने हो कि भन्ने चिन्ता आफूलाई लागेको पनि बताए । 

‘अब मंसिर ४ गते चुनाव हुन गइरहेको छ । सबैलाई टिकट चाहिएको छ । अब टिकट नपाउने हो भने कता फेन्ट हुने हो थाहा छैन । भनेपछि चाहना हेर्ने हो भने आकासिएको छ । सबै एकदम काबिल भएर आएका छन् । को काबिल, को काबिल छैन ? त्यो छुट्टाउने आधार हामीले बनाउन सकिरहेका छैनौं । नगरे पनि हुन्थ्यो नि दाबी भन्ने पनि चर्को दाबी गरिरहेका छन् । उठेर दुई कदम हिँड्न सक्दैन बिचरा बुढो भइसक्यो । तैपनि मर्ने बेलामा एकचोटी त पाऊँ, अरू केही भएन भने नाम भए पनि त्यहाँ टाँसिन पाऊँ । के होला, कस्तो गाह्रो ?’ उनले भने ।

अध्यक्ष नेपालले पार्टीका नेता-कार्यकर्तालाई कुनै व्यवसाय  वा रोजगारीमा जोडिन पनि पटकपटक सचेत गराए । त्यसका लागि सहकारीको अवधारणा सबैभन्दा उपयुक्त रहेको उनको भनाइ थियो ।





  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार १६:३४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया