एसियन कप छनोट : नेपालको पोस्टमा बहराइनको आधा दर्जन गोल

बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा गएराति घरेलु टोली बहराइनसँग ६–० ले पराजित हुँदै नेपालले लगातार तेस्रो हार बेहोरेको हो ।

समूह ‘बी’ अन्तर्गतको खेलमा बहराइनलाई जित दिलाउन अब्दुल्ला अली अल्सुबाई एक्लैले दुई गरे । त्यस्तै, कप्तान अब्दुल्लाह सुल्तान अल्खालासी, सायद अली नसिर, अब्दुलरहमान गडबन र मुबारक मोहमद हाबिबले एक/एक गोल गरे ।

खेलको २० औं मिनेटमा कप्तान सुल्तानले पेनाल्टीमा गोल गर्दै बहराइनलाई अग्रता दिलाए । नेपालका डिफेन्डर सुमित श्रेष्ठ पेनाल्टी बक्सभित्र ह्याण्ड गरेपछि बहराइनले पेनाल्टीको अवसर पाएको थियो ।

खेलको २८ औं मिनेटमा अमर श्रेष्ठले रातो कार्ड पाएपछि नेपाल पहिलो हाफमै १० खेलाडीमा समेटियो । ४२ औं मिनेटमा नसिरले टोलीको अग्रता दोब्बर बनाए । ६७ औं मिनेटमा अब्दुलरहमानले गोल गर्दा घरेलु टोली ३–० ले अघि बढ्यो । ८३ औं मिनेटमा अलीले बहराइनलाई ४–० को अग्रता दिलाए ।

८८ औं मिनेटमा अलीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरे । ९० औं मिनेटमा मुबारकले गोल गर्दै बहराइनलाई ६–० को फराकिलो जित दिलाए । योसँगै पहिलो जित निकालेको बहराइनले दुई खेलमा चार अंक जोडेको छ ।

यसअघि उसले बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो । लगातार तेस्रो पराजयसँग‌ै बिना अंक पुछारमा रहेको नेपाल प्रतियोगिता बाहिरिएको छ । यसअघि नेपाल भुटानसँग २–० र कतारसँग ३–१ को हार बेहोरेको थियो । नेपालले अन्तिम खेलमा आइतबार बंगलादेशको सामना गर्नेछ ।





  • प्रकाशित मिति : भदौ ३०, २०७९ बिहीबार ७:११:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया