जनता अहिले पनि माओवादीको हातमा देशको चाबी दिन चाहन्छन् : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई जनताले देशको चाबी दिन चाहेको बताएका छन् । उनले देशको राजनीति कता लैजाने भन्ने कुराको फैसला माओवादीले गरोस् भन्ने चाहाना जनताको मन रहेको स्थानीय चुनावबाटै प्रष्ट भएको उल्लेख गरे । 

‘माओवादी पार्टी जनतामा अहिले स्थानीय तहको निर्वाचनबाट एउटा सन्देश के हो भने जनता अहिले पनि माओवादी पार्टीको हातमा नै देशको चाबी दिन चाहन्छन् । देशको राजनीति कता लैजाने भन्ने कुराको फैसला माओवादीले गरोस् भन्ने चाहाना छ जनताको भन्ने कुरा प्रष्ट देखिएको छ,’ प्रचण्डले भने ।

पोष्टबहादुर बोगटीको आठौँ स्मृति दिवसको अवसरमा उनले पार्टीले प्रक्रियागत ढंगले खडा गरेको उम्मेदवार केबल व्यक्ति मात्र नभई सिंगो पार्टी हुने बताए । प्रचण्डले निर्वाचनमा व्यक्ति जित्ने या हार्ने मुख्य नभएको उल्लेख गर्दै पार्टीले जित्ने या हार्ने विषय महत्वपूर्ण हुने धारणा राखे । 

यही विषयलाई बुझ्न सके माओवादी पार्टी प्रदेश र संघको निर्वाचनमा देशको एक नम्बर कम्युनिष्ट पार्टी बन्ने आधार मजबुत रहेको उनको दाबी छ । ‘पार्टीले विधिसम्मत ढंगले, प्रक्रियागत ढंगले निर्णय गरेर उम्मेदवार खडा गरिसकेपछि त्यो व्यक्ति रहँदैन, त्यो पार्टी हुन्छ । त्यो निर्णय पार्टीको हुन्छ । त्यो व्यक्ति जित्ने या हार्ने मुख्य कुरा होइन, मुख्य कुरा पार्टीले जित्ने या हार्ने हुन्छ । यति सानो कुरा हामी सबैले बुझ्ने हो भने माओवादी पार्टी प्रदेश र संघको निर्वाचनमा देशको एक नम्बर कम्युनिष्ट पार्टी बन्ने आधार मैले मजबुद देख्छु,’ प्रचण्डले भने ।

उनले माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिष्टको प्रयासले नै देश संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिकमा गएको बताउँदै जतिसुकै नकार्न खोजे पनि इतिहासले यसलाई स्वीकार्य नगर्ने प्रष्ट पारे । 

प्रचण्डले इमान्दारका साथ मिहिनेत गरे आगामी निर्वाचनमा माओवादीको जितलाई कसैले रोक्न नसक्ने धारणा राखे । 





  • प्रकाशित मिति : भदौ ३०, २०७९ बिहीबार १०:५१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया