हेटौंडा अस्पताल : भवन नयाँ बन्यो, सेवाग्राहीलाई सास्ती कायमै

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालको नवनिर्मित भवनमा १९ भदाैदेखि सेवा सुरु भयो । नयाँ भवनमा अस्पताल सरेपछि अस्पतालको सेवा सुविधादेखि व्यवस्थापनमा पनि सहजता आउला भन्ने सेवाग्राहीले आशा लिएका थिए । तर, नयाँ भवनमा अस्पताल सरे पनि अस्पतालको व्यवस्थापन भने पुरानै अवस्थाको रहेको अस्पतालमा आउने सेवाग्राहीले बताउने गरेका छन् ।

हेटौंडा–८ कमानेबाट बुधबार उपचारका लागि अस्पतालमा आएका तिलक पराजुली अस्पतालको संरचना टलक्क टल्किए पनि उपचारको लागि व्यवस्थापनमा भने कुनै परिवर्तन नभएको बताउँछन् । ‘डेंगुको सङ्क्रमणको बेला छ । बिरामीहरू बेड नपाएर भुईँमै सुतिरहेका छन्,’ पराजुलीले भने,  ‘इमर्जेन्सीमा पनि भनेको बेला केही सुविधा पाइएको छैन ।’ 

बुधबार दिउँसो अस्पताल भित्र ल्याबको रिपोर्ट लिनेको लाइन लामो देखिन्थ्यो । इमर्जेन्सीमा आफ्ना बिरामी राखेर रिपोर्ट लिनका लागि ३/४ घण्टा लाइनमा बस्दा पनि रिपोट लिन नसकिएको स्थानीय तथा सेवाग्राही गीता सन्जेल बताउँछिन् ।

‘इमर्जेन्सी भनेपछि त तुरुन्तै पाइने भन्ने होइन र? तर हामीले त घण्टौंसम्म लाइन बसिसक्यौँ । तर पनि रिपोट दिने मान्छे नभएको हो कि, के हो बुझ्नै सकिरहेका छैनौँ । अस्पतालको बिल्डिङ मात्रै राम्रो बनाएर के गर्नु?,’ प्रश्न गर्दै गीताले आक्रोश पोखिन् । अस्पतालले दिने सेवा सुविधामा सुधार हुनु आवश्यक रहेको बताउँदै व्यवस्थापनले ध्यान दिनुपर्ने उनले बताइन् ।

छिटोछरितो सेवा पाउनु पर्ने बिरामी र कुरुवाको माग छ ।  बिरामी जाँचको रिपोट चार दिनसम्म पनि नआएको भन्दै हेटौंडा–१४ कि इन्दिरा न्यौपानेले गुनासो गरिन् । ‘हिजो दिउँसो १ बजेका लागि बोलाइएको थिए । हिजो पनि आएँ । १ घण्टा लाइनमा बसेँ । त्यसपछि बल्ल रिपोट लिने पालो आएको थियो । तपाईँको रिपोट आएको छैन, भोलि आउनु भने । त्यही भएर म आज पनि आएको । आजसम्म गरेर म जँचाउन एक पटक र रिपोट लिन तीन पटक आएँ । अझै पनि रिपोट हातमा परेको छैन । हात गोडा दुखेर जँचाउन आएको अझै बिरामी परिएला झैँ भइसकेँ । अस्पताल मात्रै राम्रो भयो । हामीलाई सास्ती भने उस्तै छ,’ न्यौपानेले भनिन् ।’ 

डेंगुका कारण अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । अस्पतालमा डेंगु परीक्षण गर्ने किटको पनि अभाव रहेको अस्पतालका कर्मचारीहरू बताउँछन् । मकवानपुरका विभिन्न स्थानहरू सहित छिमेकी जिल्लाहरू बारा, पर्सा, वीरगन्ज र रौतहट देखि  बिरामीहरू उपचारका लागि हेटौंडा अस्पताल आउने भएकोले पनि अस्पतालमा बिरामी चाप बढेको हो । यसलाई कसरी व्यवस्थापन गरेर उपचारमा सहजता दिने भन्ने कुरामा अस्पताल प्रशासनले ध्यान दिनुपर्ने सेवाग्राहीहरू बताउँछन् । 



नयाँ भवन भएकोले व्यवस्थापनका लागि अस्पताल प्रशासनले काम गरिरहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । अस्पतालको भवन बल्ल बनेकोले अब सबै कामहरू सहज तरिकाले गर्न सकिने जनाउँदै केही दिनबाट नै सेवाग्राहीहरूले सास्ती भोग्न नपर्ने अस्पताल प्रशासनको दाबी छ । 

३० करोड रुपैयाँको लागतमा निर्माण भएको २ तले भवनमा टिकट काउन्टर, ल्याब, इमर्जेन्सी, फार्मेसी र ओपिडी सेवाहरू सुचारु भएको हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए । स्त्री तथा प्रसूति रोग र डेन्टल बाहेक ओपिडी सेवा नयाँ भवनमा सञ्चालन गरिएको सापकोटाको भनाइ छ । 



७० शय्याको स्वीकृति प्राप्त अस्पतालमा बिरामीको सङ्ख्या भने बढ्दै गएको छ । तर, निजी र सरकारी अस्पतालका सेवाग्राहीलाई डाक्टरले फरक–फरक व्यवहार गर्ने गरेकोसमेत अस्पतालमा आउने सेवाग्राहीको आरोप छ । 

निजी अस्पतालमा सेवा लिन जाँदा डाक्टरले के कस्तो भयो भनेर सहज रूपमा सेवा सुविधा दिने भएपनि सरकारी अस्पतालमा सेवा लिन आउँदा भने डाक्टरले जवाफसमेत नफर्काउने गरेको कतिपय सेवाग्राहीहरू गुनासो गर्छन् ।  

  • प्रकाशित मिति : भदौ ३०, २०७९ बिहीबार १३:१८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया