अध्यक्ष बनाएर आफ्नै छेउमा राख्दा पनि प्रचण्डले मलाई नै भष्म पार्न खोजे : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन नेकपामा हुँदा आफूलाई नै भष्म पार्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् । बिहीबार पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  

माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आफूले पार्टी एकता गर्न बलियो साथ र समर्थन दिए पनि आफूलाई छुरी रोपेको आरोप उनले लगाए । पार्टी एकता गरी वामपन्थी बलियो बनाउन आफ्नै छेउमा अध्यक्ष बनाएर राख्दा पनि साधारण सदस्यबाट नै हटाएको उनकाे गुनासाे छ । 

माओवादी अध्यक्ष दाहाललाई विषालु दाँतको संज्ञा दिँदै अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र पहिल्यै नेकपा एमालेसँग मिलिसकेको भन्दै अहिले प्रचण्ड गुटले मात्रै पार्टी छाडेर गएको बताए । आन्दोलन धोकाबाट कहिल्यै सफल नहुने बताउँदै उनले गठबन्धन शब्दबाट अहिले आमनागरिक आजित भएको दाबी गरे । 

उनले गठबन्धनलाई देश बिगार्ने, लोकतन्त्र सिध्याउने, भ्रष्टाचार गर्ने र भ्रष्टाचारलाई प्रश्रय दिने, नातावादी, आफन्तवादी, परिवारवादी, र आफ्ना स्वार्थमा कुँदेको गबठन्धनको संज्ञा दिए । अहिलेको गठबन्धनको हैसियत एमालेसँग सीधा हेर्नसक्ने नरहेको बताउँदै उनले आगामी निर्वाचनमा ५० लाख मत ल्याउने गरी तयारी थाल्न पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए । 

अध्यक्ष ओलीले आगामी निर्वाचनमा नेकपा एमालेले हार्नै नमिल्ने बताए । देश, जनता, लोकतन्त्र, भ्रष्टाचार, शान्ति सुव्यवस्था, स्थिरता र स्थायित्वका लागि हार्न नमिल्ने उनकाे भनाइ छ । देशको विकास र समृद्धिको अभियान अघि बढाउने काम नेकपा एमालेबाहेक अन्य दलहरुले गर्न नसक्ने बताउँदै उनले गठबन्धनले अहिले देशलाई अधोपतनतिर लगिरहेको दाबी गरे । 

आगामी निर्वाचनमा सम्पूर्ण शक्ति लगाएर प्रतिक्रियावादीहरु आफ्नो विरुद्धमा आउने भन्दै मतवृद्धि गर्ने कुरादेखि लिएर मत रक्षा गर्ने कुरासम्म चनाखो हुन निर्देशन दिए । अध्यक्ष ओलीले अहिलेका गठबन्धनका महारथी भनेर आफूलाई ठान्नेहरु कागजी बाघ मात्र भएको उल्लेख गर्दै गठबन्धनरुपी चक्रव्यूह तोड्न एमाले सक्षम रहेको बताए । 



अध्यक्ष ओलीले समृद्ध नेपाल सुखी नेपाली भन्ने आँट नेकपा एमालेबाहेक नेपालका कुनै राजनीतिक दल र नेता कार्यकर्तामा नभएको बताए । बाहिरबाट भ्रष्टाचार हुन नहुने भन्ने, तर भित्रभित्रै भ्रष्टाचार गर्ने नीति अन्य दलको नीति भएको, तर नेकपा एमालेको नीति नरहेको उनले बताए । 



  • प्रकाशित मिति : भदौ ३०, २०७९ बिहीबार १८:४०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया