आजदेखि इ-सिम वितरण गर्दै टेलिकम, यस्तो छ प्रयोग गर्ने तरिका

नेपाल टेलिकमले आजदेखि कम्पनीका ग्राहकलाई इ–सिम वितरण गर्ने भएको छ । टेलिकमले सुन्धारा काउन्टरबाट निःशुल्क इ–सिम वितरण गर्ने भएको हो । इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिएका छन् ।

हाल ‘फिजिकल’ सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क इ–सिममा परिवर्तन गर्न सकिने छ । नयाँ पोस्ट पेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा इ–सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ । 

यसबाट फोन गर्ने र डाटा चलाउनेलगायत विभिन्न कार्य गर्न सकिन्छ । इ–सिम प्रयोगमा आएपश्चात् सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । 

इ–सिम भनेको एक इम्बेड गरिएको सिम कार्ड हो । यो भौतिक सिम कार्डको सट्टामा निकालिएको सिम कार्ड हो जसले फोनलाई मोबाइल नेटवर्कसँग कनेक्ट गर्ने गर्दछ । इ–सिम भौतिक सिम कार्ड भन्दा धेरै सानो हुने गर्दछ । 

के फरक छ इ–सिम र भौतिक सिममा?

इ–सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । इ–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिकरूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । इ–सिमलाई मदरबोर्डसँगै जोडिएको हुन्छ । यसलाई भौतिक सिम जस्तो झिक्न र राख्न मिल्दैन । तर, यसमा नम्बर परिवर्तन गर्न सकिन्छ र कुन भिाइसमा राख्ने भनेर पनि परिवर्तन गर्न सकिन्छ ।



यसलाई स्वीच गर्न र सेट गर्न अझैसहज रहेको छ । डिजिटल सिम पनि भन्ने गरिएको यो प्रविधिको प्रयोग गरी भौतिक सिमकार्ड बिना नै दूरसञ्चार कम्पनीका ग्राहकहरुले फोन कल, डेटा, मेसेजको सुविधा उपभोग गर्न सक्छन् । जसका लागि इ–सिम सुविधा भएको फोन भने उपभोक्ताले बोक्नुपर्ने हुन्छ । 

कुन सेटले सपोर्ट गर्छन् इ–सिम?



सामसङ, एप्पल, गुगल, हुवावे, मोटोरोला, ओप्पो, सोनी, अनरलगायतका कम्पनीले उत्पादन गरेका फोनमा इ–सिमको फिचर उपलब्ध छ । सामसङको ग्यालेक्सी फोल्ड, जी फोल्ड, जी फ्लिप, ग्यालेक्सी एस २०, ग्यालेक्सी एस २१, ग्यालेक्सी एस २१ : फाइभजी, ग्यालेक्सी एस २२,  ग्यालेक्सी एस २२, ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी नोट २० अल्ट्रा फाइभजी, ग्यालेक्सी नोट २० सहितका स्मार्टफोनमा इ सिम फिचर रहेको कम्पनीले जनाएको छ।

यस्तै, एप्पलको आइफोन ११, आइफोन एसइ (२०२०), आइफोन १२, आइफोन १३, आइफोन १४ का मोडलहरुमा इ सिमको सुविधा रहेको कम्पनीले जनाएको छ । एप्पलले उत्पादन गर्ने आइप्याड प्रो (२०१८ पछिका), आइपड, आइपड एयरसहित एप्पलको वाच सिरिज ३, ४, ५, ६ र वाच एसइले इ सिम सपोर्ट गर्छ ।

हुवावेको पी ४०, पी ४० प्रो र मेट ४० प्रोमा इ–सिम उपलब्ध रहेको कम्पनीले जनाएको छ । मोटोरोलाको आरएजेडआर २०१९ र आरएजेडआर फाइभजीमा इ-सिम उपलब्ध छ ।

त्यसैगरी, ओप्पोको फाइन्ड एक्स थ्री प्रो, रेनो फाइभ ए, रेनो सिक्स प्रो फाइभजी, फाइन्ड एक्स फाइभ, एक्स फाइभ प्रो र ए ५५ एस सेटले इ–सिम सपोर्ट गर्ने कम्पनीले जनाएको छ ।

  • प्रकाशित मिति : भदौ ३१, २०७९ शुक्रबार ८:१३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया