घरेलु टोली नेपालले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपअन्तर्गत दोस्रो सेमिफाइनलमा आज साबिक विजेता भारतकाे सामना गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेबाट सुरु हुनेछ ।
नेपाल आज बलियो भारतलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ । तर, भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने भने छैन । किनकी हरेक संस्करणमा नेपाल भारतसँग नै स्तब्ध हुँदै आएकाे छ ।
भारत पनि नेपाललाई हराएर उपाधि रक्षाको होड कायम गर्न चाहन्छ । नेपालविरुद्ध भारत आफ्नो विरासत कायम राख्ने सोचमा छ । समूह चरणमा अपराजित नेपाल समूह 'बी' को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेकाे हाे ।
नेपालले भुटानलाई ४–० र श्रीलंकालाई ६–० ले पराजित गरेकाे थियाे । भारतले समूह 'ए' को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो । पाकिस्तानलाई ३–० र माल्दिभ्सलाई ९–० ले हराएको भारतले बंगलादेशसँग ३–० को पराजय बेहाेरेको थियाे ।
महिला साफमा नेपाल र भारतले हालसम्म पाँच खेलमा एक अर्काे सामना गर्दा सबै खेल भारतले जितेको छ । भारतले २०१० फाइनलमा भएकाे पहिलो भेट १-० तथा २०१९ को फाइनलमा भएकाे पछिल्लाे भेट ३-१ ले आफ्नो पक्षमा पारेको थियाे ।
त्यस्तै, आज दिउँसाे १ बजेबाट सुरू हुने पहिलो सेमिफाइनलमा बंगलादेश र भुटान प्रतिस्पर्धा गर्नेछन् । बंगलादेश समूह`ए´ विजेता तथा भुटान समूह `बी´ को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका हुन् ।
बंगलादेश भुटानलाई हराउँदै दोस्रोपटक फाइनल पुग्ने सोचमा छ । यसअघि उसले २०१६ को फाइनल खेलेको थियाे । पहिलोपटक सेमिफाइनल पुगेकाे भुटान पनि बंगलादेशलाई हराउँदै फाइनल पुग्ने प्रयासमा छ । तर उसलाई बलियाे टाेलीविरुद्ध जित निकाल्न सहज भने हुने छैन ।
समूह चरणमा बंगलादेशले माल्दिभ्स र भारतलाई समान ३-० तथा पाकिस्तानलाई ६-० ले हराएको थियाे । नेपालसँग ४-० ले पराजित भुटानले श्रीलंकाविरुद्ध ५–० को जित निकाल्यो ।
बंगलादेश र भुटानले याे प्रतियोगितामा हालसम्म तीन खेलमा एकअर्काकाे सामना गर्दा तीनै खेल बंगलादेशले जितेको छ । बंगलादेशले सन् २०१० को पहिलो भेट ९-० तथा २०१९ को पछिल्लाे भेट २-० ले आफ्नो पक्षमा पारेको थियाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।