अनिल कपूरले किन अस्वीकार गरेका थिए ‘बाजीगर’ ?

‘बाजीगर’ त्यो फिल्म हो, जुन अभिनेता शाहरुख खानको करियरमा एउटा ठूलो टर्निङ पोइन्ट साबित भएको थियो । शाहरुखलाई बलिउडको ‘किङ’ बनाउनका लागि यो फिल्मले ठूलो भूमिका खेलेको छ । तर, कमैलाई मात्र थाहा होला कि यो फिल्मको पहिलो रोजाइ शाहरुख थिएनन् ।

अजय मल्होत्रा या नक्कली विक्की मल्होत्राको भूमिका शाहरुख नभई अर्को एक कलाकार निभाउने तयारीमा थिए । तर उनले स्क्रिप्ट पढेपछि त्यो फिल्म अस्वीकार गरे । उनी थिए, अनिल कपुर ।

फिल्मका निर्देशक अब्बास–मस्तानले ‘झक्कास’ कपूरले फिल्म गर्न किन अस्वीकार गरे भन्ने कुराको हालै खुलासा गरेका छन् । ‘मैले अनिलसँग प्रस्ताव गरेपछि उनलाई कथा पनि सुनाएँ । फिल्मको न्यारेसन सुनेपछि उनले फिल्म गर्न अस्वीकार गरे । उनले आफूले गरिरहेको फिल्मभन्दा बाजीगर फरक फ्लेभरको भएकाले गर्न नसक्ने बताएका थिए । अर्थात् फिल्मको प्रमुख पात्र एन्टी हिरो हुने भएकाले अनिल फिल्मबाट पछि हटे,’ अब्बासले भनेका छन् ।

यसपछि शाहरुखसँग टेलिभिजन सिरिज ‘फौजी’ मा काम गरिसकेका अमृत पटेलले अब्बासलाई शाहरुखको नाम सिफारिस गरे । पटेलले अब्बासलाई शाहरुखलाई कामप्रति लगाव राख्ने र राम्रो अभिनय गर्ने कलाकारका रुपमा चिनाएका थिए । जब शाहरुख अब्बासकोमा पुगे, तब शाहरुखले कथा भन्न आग्रह गरे । किनकि निर्देशकले फिल्मबाट के चाहन्छन् भन्ने कुरा शाहरुख बुझ्न चाहन्थे ।

अब्बासका अनुसार शाहरुखलाई कथा सुनाउन उनमा आत्मविश्वास थिएन । तर पनि उनले कथा सुनाए । कथा सुनेपछि शाहरुख काम गर्न मञ्जुर भए । ‘हाम्रो खराब न्यारेसनपछि पनि शाहरुख यति बौद्धिक थिए कि उनले हामी फिल्मबाट के चाहन्छौं भन्ने कुरा थाहा पाए’, अब्बासले भनेका छन् ।

अब्बासले फिल्म रिलिजको दिन थिएटर पुगेर फिल्म हेरेका थिए । फिल्म हेरेका दर्शकले शाहरुखको भूमिकालाई रुचाएको देख्दा उनी छक्क परेका थिए । ‘दर्शकले शाहरुखलाई यति माया गर्छन् भन्ने हामीले सोचेका थिएनौं । उनीहरुको प्रतिक्रिया ‘यो मान्छे सुपरस्टार हो’ जस्तो थियो । दर्शक शाहरुखको पक्षमा थिए’, उनले भनेका छन् ।



फिल्ममा काजोल, शिल्पा शेट्टी र दिलीप ताहिलको पनि अभिनय थियो । यो फिल्म सन् १९९३ को सर्वाधिक हिट फिल्म हो । 



  • प्रकाशित मिति : भदौ ३१, २०७९ शुक्रबार १३:५८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया