प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्ने सांसदहरूले कसले के भने ?
फाइल तस्बिर

प्रतिनिधिसभा सदस्य कमला रोक्काले उत्तरगंगा जलाशय आयोजनालाई ढोरपाटनको प्राकृतिक सौन्दर्य नबिगारी अगाडी बढाउन माग गरेकी छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद रोक्काले उत्तरगंगा जलाशय आयोजनालाई ढोरपाटनको प्राकृतिक सौन्दर्य नबिगारी अगाडी बढाउन माग गरिन् । उनले पानीको बहाव बग्नेतिर नै आयोजनालाई अगाडी बढाउनुपर्ने बताइन् । उनले ढोरपाटन आरक्षणमा नेपाली सेनाले नियम, कानुनलाई मिचेर स्थानीय जनतालाई सताएको भन्दै सदनमा जानकारी गराइन् ।

‘हामीले बारम्बार यसको विषयमा कुरा उठाएका छौँ । सुन्दर ढोरपाटन जो प्राकृतिक हिसाबले यसलाई नबिगारेर जुन पानीको बहाव बग्नेतिर यसको आयोजना अगाडी बढाउनुपर्छ भनेर रुकुम पूर्वको जनता र ढोरपाटनका जनताले बारम्बार यो विषयलाई अगाडी बढाइराखेको छ,’ उनले भनिन्, ‘त्यसैले रणनीतिक महत्त्वको जुन पानीको बहाव बग्ने तिर यो आयोजनालाई अगाडी बढाउनका निम्ति म सम्बन्धित मन्त्रालयलाई भन्न चाहन्छु । ढोरपाटन आरक्षणमा अहिले नेपाली सेनाले नियम, कानुनलाई मिचेर त्यहाँका जनतालाई बारम्बार सताएको संसदमा जानकारी गराउन चाहन्छु ।’

प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तले आगामी निर्वाचनमा जितेर आउनेहरूले जनताको पिर, मर्का र राष्ट्रको वृहत् हितलाई ध्यानमा राखेर काम गर्न आग्रह गरिन् । उनले संसदको कार्यकालमा आफूहरूले उठाएका कुराहरू कार्यान्वयन भए/नभएको जनताले मूल्याङ्कन गर्ने पनि बताइन् । ‘हामीले उठाएका कुराहरू कति कार्यान्वयन भए, कति भएनन्, जनताले मूल्याङ्कन गर्लान् नै । हामीमध्ये कति साथीहरूले टिकट पाउनुहोला कतिले जितौँला, कतिले हारौँला,’ उनले भनिन्, ‘यो सदनमा फेरि फर्केर आउन सफल हुने सबै साथीहरू अवश्य पनि जनताको पिर, मर्का, राष्ट्रको वृहत् हितलाई ध्यानमा राखेर काम गर्न सक्नु नै पर्छ भन्ने मेरो मान्यता छ । शुभकामना पनि छ ।’

प्रतिनिधिसभा सदस्य नारायण मरासिनीले सिद्धार्थ राजमार्ग अन्तर्गतको पोखरा–बुटवल–सुनौली खण्डको स्तरोन्नति गर्न माग गरे । त्यस्तै स्याङ्जा–पोखरा सडक अन्तर्गत भालु पहाडमा ढुंगा खसिरहने भन्दै उहाँले ढुंगा खस्न नदिने प्रबन्ध गर्न आवश्यक रहेको बताए । उनले भने, ‘पोखरा–बुटवल हुँदै सुनौली जोडिने सिद्धार्थ राजमार्ग महत्त्वपूर्ण राजमार्ग हो । साँघुरो र अनगिन्ती घुम्ती भएकाले यसको स्तरोन्नति आवश्यक छ । गरियोस् । राजमार्गको स्याङ्जा–पोखरा सडक अन्तर्गत भालु पहाडमा ढुंगा खसिरहने हुँदा यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । राजमार्गमा ढुंगा खस्न नदिने प्रबन्ध गरिनु अत्यन्त आवश्यक छ ।’

प्रतिनिधिसभा सदस्य प्रेम सुवालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित खोप अस्पताल र खोप कलेजहरूमा नेट ढिलो हुँदा बिरामीको उपचार र विद्यार्थीको अध्ययन, अध्यापनमा अवरोध भइरहेकोले समस्या समाधान गर्न माग गरे । उनले भने, ‘भक्तपुर नगरपालिकाद्वारा सञ्चालित खोप अस्पताल र खोप कलेजहरूमा नेट ढिलो हुँदा बिरामीको उपचार र विद्यार्थीको अध्ययन, अध्यापनमा अवरोध भइरहेको छ । सम्बन्धित मन्त्रीलाई के–कस्तो प्रविधि त्यहाँ राख्नुपर्ने हो ? बन्दोबस्तको लागि निर्देशनको आग्रह गर्न चाहन्छु ।’

प्रतिनिधि सभा सदस्य खेमप्रसाद लोहनीले बुढी गण्डकी जलाशययुक्त जलविद्युत परियोजनाको क्षतिपूर्ति र मुआब्जा हालसम्म नपाइएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले मुआब्जा दिने तथा प्रभावित क्षेत्रको जनताको पुनर्स्थापनाको माग गरे । उनले भने,  ‘बुढी गण्डकी जलाशययुक्त जलविद्युत परियोजनाको क्षतिपूर्ति र मुआब्जाको कार्य अझै पनि बाँकी छ । जनताहरुको पुनर्स्थापनाको काम अझै बाँकी छ । जनताले उपभोग गरिरहेको जमिनको क्षतिपूर्ति र त्यहाँ बनेको संरचनाहरूको मुआब्जा र क्षतिपूर्ति जनताले पाउन सकोस् । पुनर्स्थापनाको व्यवस्था होस् । सरकारको ध्यानाकर्षणको लागि हार्दिक अनुरोध गर्दछु ।’



प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले राराको निकुञ्जलाई हटाएर मानिसको बसोबास गराउनुपर्ने बताए । उनले निकुञ्जलाई मुगुको पूर्वतिर सारेर त्यहाँ मानिसलाई बसोबास, व्यवसाय गर्न दिन माग गरे । ‘रारामा निकुञ्ज बनाइएको छ । त्यो निकुञ्जलाई हटाएर मान्छेको बसोबास राख्नुपर्‍यो । निकुञ्जलाई पूर्वतिर लानुपर्‍यो त्यहाँको जनताको आवाज छ । त्यहाँ सिङ्गो कर्णालीलाई पाल्न सक्ने राराले दुई, चार वटा बँदेल पालेर हुँदैन,’ उनले भने, ‘आउने सदनले हेक्का राखोस् कर्णालीको रारा निकुञ्जलाई मुगुको पूर्वतिर सारोस् । र रारा निकुञ्जलाई मान्छेको आबादी हुने, बसोबास गर्ने, व्यवसाय गर्ने । त्यहाँ पाँच लाखदेखि दश लाख मान्छेहरूले रोजीरोटी पाउँछन् । रोजगार पाउनेछन् ।’ 



  • प्रकाशित मिति : भदौ ३१, २०७९ शुक्रबार १४:५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया