कांग्रेसको कारबाहीमा परेकाहरू स्वतन्त्र उम्मेदवारी दिने तयारीमा

गत स्थानीय तह निर्वाचनमा महोत्तरीमा नेपाली कांग्रेसले टिकट नदिएपछि बागी उम्मेदवार दिएर बर्दिबास नगरपालिका प्रमुखमा जितेका प्रल्हाद क्षेत्री पक्षधरहरुले अहिले स्वतन्त्र पक्षधरको चुनावी छलफल थालेका छन् । 

महोत्तरी क्षेत्र न.१ क मा पर्ने बर्दिबास नगरपालिकामा स्वतन्त्र घोडा छापबाट जितेका क्षेत्री पक्षले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कसरी सहभागी हुने भन्ने विषयमा छलफल थालेका हुन् । 

गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा कांग्रेसले नगर सभापति युवराज पोखरेल, प्रल्हाद क्षेत्रीसहितका नेतालाई कारबाही गरेको थियो ।

तर, अहिलेसम्म कारबाही फुकुवा नगरेपछि उनीहरूले आउँदो ४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनमा समेत घोडा छापबाट नै आफ्नो उम्मेदवार बनाउने र प्रतिनिधिसभामा कुनै पाटीलाई सर्तसहित सहयोग गर्ने तयारी गरेका क्षेत्रीनिकट विनोद ढुंगेलले बताए ।

निर्वाचन क्षेत्र न. १ मा अहिले पनि आफूहरूको मत बढी रहेको स्वतन्त्र पक्षधरहरूले दाबी गरेका छन् । ‘हामी बैठक बसेर प्रदेशमा उम्मेदवार उठाउँछौ र संघमा परिस्थिति हेरेर सहयोग गर्छौँ,’  नेता ढुंगेलले भने ।

यद्यपि, कांग्रेसले कारबाही फुकुवा गरेमा भने पार्टीको निर्देशनमा लचिलो बन्ने क्षेत्री पक्षधरले संकेत गरेका छन । जिल्ला सभापति नागेश्वर यादवका अनुसार कारबाहीमा परेका नेता, कार्यकर्ताहरूलाई फुकुवा गर्न पहल भइरहेको छ ।



‘सभापति शेरबहादुर देउवासँग पनि कुरा भइसकेको छ । कारबाही फुकुवाका लागि सभापतिलाई पटक पटक भेटेको पनि छु । आशा गरौँ छिट्टै कारबाही फुकुवा हुनेछ,’ सभापति यादवले भने  । 



  • प्रकाशित मिति : भदौ ३१, २०७९ शुक्रबार १६:५३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया