‘एक विद्यालय, एक नर्स’ कार्यक्रम : सामान्य बिरामी हुँदा छुट्दैन पढाइ

हेटौंँडा-५ पिप्लेमा रहेको बालज्योति माविमा कक्षा १० मा पढ्ने रितिका पडिण्तलाई कक्षामा पढ्दापढ्दै टाउको दुख्यो । ज्यान भारी भएर ज्वरो आउलाजस्तै भएपछि पण्डित विद्यालयमै रहेको स्वास्थ्य क्लिनिक पुगिन् । त्यहाँ नर्सले उनलाई केही औषधि र तातोपानी खुवाइन् । क्लिनिकको बेडमा केहीबरे आराम गरेपछि पण्डितलाई सञ्चो भएको महशुस भयो । उनले फेरि अन्य विषयको अध्ययनलाई निरन्तरता दिन पाइन् । 

सोही विद्यालयमा कक्षा ८ मा पढ्दै आएकी कृतिका मगर पनि विद्यालयमा रहेको स्वास्थ्य क्लिनिक देखेर दंग छिन् । सामान्य टाउको दुख्दा पनि कक्षा छोडेर घर जानुपर्ने समस्या अहिले नरहेको उनी बताउँछिन् । 

‘अस्तिन त हामी महिनावारी हुनेबित्तिकै घर गइहाल्थेऊँ । घर जानलाई सरलाई सोध्न पनि डर र लाज लाग्थ्यो । अहिले त त्यस्तो हुँदैन । स्कुलमै हुँदा महिनावारी भयौँ भने क्लिनिकमा गएर प्याड लगाउँछौँ अनि आनन्दले पढ्छौँ’ मगरले भनिन् । 

उनले क्लिनिक सुरु गरेपछि आफूहरूलाई सहज भएको बताइन् । त्यसका साथै आफ्ना समस्या सुनाउन पनि सहज भएको उनको भनाइ छ । ‘हामीलाई नर्सले गलत छुवाइबारे पनि सिकाउनुहुन्छ । साथीले अथवा सरले के गर्दा राम्रो के गर्दा नराम्रो भन्ने कुरा पनि हामीले जानेका छौँ । हामी पनि हाम्रो सबै समस्या निर्धक्क भन्ने गरेका छौँ’ उनले भनिन् ।

स्कुलमा पढाइ भइरहेकै बेलामा सामान्य टाउको दुखेमा, पेट दुखेमा विद्यार्थी घरै जानुपर्ने बाध्यता अझै पनि छ । यो समस्या नेपालका अधिकांश सामुदायिक विद्यालयका विद्यार्थीले भोग्नुपरेको छ । तर, बागमती प्रदेशका धेरै विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम आएदेखि विद्यार्थीको कक्षा छुट्ने समस्याको हल भएको छ ।  

बागमती प्रदेश सरकारले ल्याएको एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बनेको छ । १३ जिल्लाका २० स्थानीय तहबाट सुरु गरेको कार्यक्रम अहिले ४ सय ५९ वटा विद्यालयमा सञ्चालन भइरहेको छ । विद्यालयमै उपचार कक्षको सुरु भएपछि सामान्य बिरामी हुँदा विद्यालय छोड्नुपर्ने समस्या हटेको विद्यार्थी बताउँछन् । 



सामान्य उपचारदेखि महिनावारी हुँदा प्रयोग गर्ने सेनिटरी प्याडसम्मको सुविधा विद्यालयमै उपलब्ध हुँदा पढाइमा बाधा नहुने गरेको विद्यार्थीको भनाइ छ । 

विद्यालयमा यो कार्यक्रमले छात्रको तुलनामा छात्रालाई विशेष सहयोग मिलेको अनुभव कार्यरत नर्सहरूको छ । सेनिटरी प्याट माग्न, पेट दुख्दा भन्न तथा अन्य काउन्सिलका लागि छात्रा आफूहरूसँग नजिक हुने नर्स प्रतिमा सेढाईं बताउँछिन् । 



'विद्यालयमा आएदेखि नै विद्यार्थी साथीजस्तै गरी आफ्ना सबै कुरा साझा गर्ने गरेका छन्', उनले भनिन् । छात्रलाई भन्दा छात्राका लागि यो कार्यक्रम प्रभावकारी रहेको उनको ठम्याइ छ । 

नर्स सेढाईंले थपिन्, 'महिनावारीको बेला छात्राले भोग्नुपर्ने समस्याको हल भएको छ । त्यति मात्रै होइन विद्यालयमा पत्रुखाना (जंगफूड)समेत पूर्ण बन्देज गरिएको छ । स्वस्थ्यकर खानाबारे विद्यार्थी आफैँ चासो देखाउन थालेका छन् । उनीहरूमा विद्यालयमा मात्रै नभएर घरमा पनि जंगफूड नखाने बानी पारिसकेका छन् ।' 

आचरणमा परिवर्तन

एक विद्यालय एक नर्स कार्यक्रम सुरु भएपछि विद्यालयमा धेरै कुरा सहज भएको विद्यालयका शिक्षक-शिक्षिकाको भनाइ छ । उनीहरूका अनुसार यो कार्यक्रमले विद्यार्थीको पढाइको स्तरसमेत वृद्धि गरेको पाइएको छ । 

विद्यालयमै नर्स भएपछि महिनावारी हुँदा निर्धक्कले भन्न सक्ने गरेको र नर्सले विद्यार्थीलाई काउन्सिलिङसमेत गर्दै आएको कारण उनीहरूको आचरणमा परिवर्तन आएको बालज्योति माविका प्राध्यापक भरतप्रसाद अर्याल बताउँछन् ।
प्रभावकारितासँगै माग बढ्दो

त्यसो त, कार्यक्रम सुरु भएदेखि नै प्रभावकारी बन्दै गएपछि अहिले सामुदायिक विद्यालयले इच्छा देखाउन थालेका छन् । हरेक वर्ष प्रदेश सरकारले संख्या बढाइरहेको छ । 

यसको प्रभावकारिता बढेसँगै स्वास्थ्य निर्देशनालयमा यो कार्यक्रम लागू गर्न धेरै विद्यालयबाट दबाब आउन थालेको एक विद्यालय एक नर्स कार्यक्रमकी संयोजक बिनु कक्षपति बताउँछिन् । 

मन्त्रालयले विद्यालय छनोटको काम स्थानीय तहलाई नै दिएको छ भने कार्यक्रमका लागि वार्षिक बजेटसमेत स्थानीय तहमार्फत नै निकासा गरिरहेको छ ।

मन्त्रालयले एक वर्षमा एक विद्यालयबराबर ५ लाख रुपैयाँ बजेट निकासा गर्ने गरेको छ । धेरैजसो स्थानीय तहले यो कार्यक्रमलाई महत्त्वका साथ हेरेका र केही स्थानीय तहलाई यो कार्यक्रमबारे अझै धेरै बुझाउन जरुरी रहेको कक्षपतिले बताइन् ।

एक विद्यालय एक नर्स कार्यक्रम विशेष गरी नसर्ने रोगहरूको नियन्त्रणका लागि सुरु गरिएको कार्यक्रम हो । छात्र-छात्राहरूमा किशोरावस्थामा आउने समस्याको व्यवस्थापनका लागि कार्यक्रम निकै प्रभावकारी भएको र आगामी कार्यक्रममा विद्यालय थप गर्ने मन्त्रालयको दाबी छ ।
 

  • प्रकाशित मिति : भदौ ३१, २०७९ शुक्रबार १७:२०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया