टुकुचाको जग्गा व्यक्तिदेखि श्री ५ सरकारको नाममा दर्ता, क-कसले गरे अतिक्रमण ? [सूचीसहित]
फाइल फाेटाे

काठमाडौं महानगरपालिकाले टुकुचा खोला अतिक्रमणमुक्त गरेर त्यहाँ दायाँबायाँ करिडोर बनाउने तयारी गरेको छ ।

महानगरले बिहीबार जय नेपाल हलको आँगन उत्खनन् गरेको थियो । त्यहाँ टुकुचा खोला फेला परेको छ । टुकुचा खोला पुरेर त्यहाँ भवन लगायतका संरचना बनाइएको थियो । इँटाको पर्खालमा सुरुङ बनाएर टुकुचालाई बगाइएको छ । टुकुचा मिचेर संरचना बनाइएको ५८१ वटा कित्ताका जग्गा र त्यहाँ बनेका घरमा डोजर चल्ने भएको छ । काठमाडौं महानगरपालिकाका अनुसार चण्डोलदेखि थापाथलीसम्म टुकुचा खोला अतिक्रमण भएका ५८१ कित्ता जग्गा तथा त्यहाँका घरमा डोजर चल्ने भएको हो ।

शहरी विकास मन्त्रालयले तयार पारेको टुकुचा खोला करिडोर व्यवस्थापनसम्बन्धी प्रतिवेदनअनुसार टुकुचा खोलाको ५८१ कित्ता जमिन विभिन्न व्यक्ति, संस्था तथा कम्पनीको नाममा दर्ता भएको छ । टुकुचा अतिक्रमित जग्गा सर्वसाधारणदेखि श्री ५ सरकारको नाममा समेत दर्ता भएको प्रतिवेदनमा उल्लेख छ । 

शहरी विकास मन्त्रालयले तयार पारेको टुकुचा खोला करिडोर व्यवस्थापनसम्बन्धी प्रतिवेदनलाई काठमाडौं महानगरपालिकाले स्वीकार गर्दै सोही योजनाअनुसार टुकुचा खोला करिडोर बनाउन लागेको हो ।

शनिबारदेखि फेरि हात्तीसारक्षेत्रमा छोपिएको टुकुचा खोला बाहिर निकाल्ने गरी उत्खनन् गर्न लागिएको छ । हात्तीसारक्षेत्रमा रहेका चारवटा ठूला भवन पूर्णरूपमा भत्किने छन् । यस्तै, केही टहरा र खोलाको सेटब्याक मिचेर बनाइएका घरका केही भूभाग पनि भत्काउने तयारी महानगरको छ ।

शहरी विकास मन्त्रालयले तयार पारेको टुकुचा खोला करिडोर व्यवस्थापनसम्बन्धी प्रतिवेदनअनुसार काठमाडौं महानगरपालिका- १ मा रहेको कित्ता नम्बर ११ को नैना कुमारी देवी राणाको जग्गादेखि वडा नम्बर ३२ को कित्ता नम्बर ३३२२ को नजमा बानुसम्मका व्यक्तिले टुकुचा खोलाको अतिक्रमण गरेका छन् ।  



जसमध्ये वडा नम्बर २ र ३ मा टुकुचाको जग्गा श्री ५ सरकारको नाममा दर्ता भएको छ । वडा नम्बर २ को कित्ता नम्बर २ र वडा नम्बर ३ को कित्ता नम्बर ४, ५, ६ श्री ५ सरकारको नाममा दर्ता भएको उक्त प्रतिवेदनमा उल्लेख छ । जुन क्षेत्र नारायणहिटी दरबार संग्राहलयभित्र पर्दछ । नापी विभागबाट प्राप्त तथ्यांकबाट नदी किनारको ४ मिटर सेटब्याकमा रहेको जग्गधनीको सूची तयार पारिएको प्रतिवेदनमा उल्लेख छ । 

टुकुचा खोलाको दायाँबायाँ रहेका ५८१ कित्ता जग्गा तथा त्यहाँ बनेका घर टहरा लगायतका संरचनाले शहरी विकासको मापदण्ड पूरा नगरेको प्रतिवेदनमा उल्लेख छ । 



टुकुचा खोलाको चौडाइ चार मिटर र खोलाको दायाँ तथा बायाँ चार चार मिटर छाड्नुपर्ने भए पनि यसरी दायाँबायाँ चार/चार मिटर नछाडिएका संरचनामा डोजर चलाउने तयारी गरिएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका स्वकीय सचिव भूपदेश शाहले जानकारी दिए ।

टुकुचा खोलाको अतिक्रमण गर्ने, अतिक्रमण गर्न सघाउ पुर्‍याउने र आफ्नो जिम्मेवारी पूरा नगर्ने राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि, महानगरकै कर्मचारी आदि समेतलाई कारबाहीका लागि सिफारिस गर्ने तयारी गरिएको स्वकीय सचिव शाहले बताए ।

सूची

  • प्रकाशित मिति : भदौ ३१, २०७९ शुक्रबार १९:१०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया