जाे डा. केसीले जाेडिदिएकाे हात लिएर अनसनस्थलमा केसीलाई नमस्कार गर्न पुगे

सहरमा आजभोलि अबेरमात्र घामको झुल्को भित्रिन्छ । चिसिँदो यो मौसममा अबेर नै भित्रिएको त्यो घामको झुल्कोले पनि त्यति न्यानो प्रदान गर्दैन । 

गत मंगलबार विहान ११ बजिसक्दा पनि घामले सहरलाई पोलेन । यही सहरको मुटुमा रहेको त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) को माहोल त्यो विहान झन् उराठ थियो, शान्त थियो । 

स्वभाविक हो, अस्पतालमा मानिसहरुको रफ्तार अन्यत्रभन्दा अलिक बढी हुन्छ । तर, त्यो विहान टिचिङ अस्पतालको गेटमा एक हुल सुरक्षाकर्मी हातमा लाठी र ‘प्रोटेक्टिङ सिल्ड’ लिएर बसेका थिए । मानौँ, अस्पतालमा कोही खुन्खार अपराधीको शल्यक्रिया चलिरहेको छ र पूरै अस्पताल घेरेन भने त्यो अपराधी जतिसुकै बेला त्यहाँबाट भाग्न सक्छ । 

गेटैमा प्रहरीहरु भएकाले पनि होला, अस्पतालको माहोल शून्यप्रायः लाग्दै थियो ।

गेटबाट सय मिटर पनि भित्र नछिर्दै अस्पतालको अकल्पनीय माहोलले जसलाई पनि जिज्ञासु बनाउँछ । त्यहाँ एप्रोन लगाएका र स्थेतोस्कोप बोकेका केही चिकित्सकहरु यताउता गरिरहेका थिए । यति ठूलो चिकित्सकको झुन्ड त्यहाँ थियो कि मानौँ एउटा कुनै ठूलो अपरेसन बाहिर फिल्डमा नै हुँदैछ ।

तर, यो भ्रम मेटाउन खासै लामो समय लाग्दैन । त्यहाँ भेला भएका चिकित्सकहरुको आँखाको भाव बुझे पुग्छ, टिचिङको त्यो विहानको माहोल ‘ग्लुमी’ थियो । 



यो ‘ग्लुमीनेस’को कारण हो– डा. गोविन्द केसीको अनसन र सरकारले अनसनप्रति देखाएको अकर्मण्यता ।

त्यो विहान डा. केसी १६ औं अनसनमा बसेको २१ औं दिन थियो । र, डा. केसी अनसन बसेको ठाउँसम्म थिए सुरक्षाकर्मी, हातमा डण्डा र ‘प्रोटेक्टिङ शिल्ड’ लिएर बसेका ।



अघिल्लो साँझ यो ठाउँको माहोल बेग्लै थियो । चिकित्सकहरु जहाँ बसेका थिए, त्यहाँ पाल टाँगिएको थियो । तर, एकाविहानै सुरक्षाकर्मीले ती पालहरु हटाइदिएको थियो, मानौं, ती पालले सरकारले हेरिरहेको क्षितिजलाई छेकेको छ ।

तर, डा. केसीको समर्थनमा अनसन बसेका चिकित्सकलाई प्रहरीको त्यो व्यवहारले कुनै प्रभाव परेको छैन । डा. केसीको समर्थनमा उनीहरु ओत नभए पनि अनसन बसिरहेका छन् । मंगलबारको विहान टिचिङको वातावरणलाई यसले झन् ‘ग्लुमी’ बनाइदिएको छ ।

डा. केसी यो अनसनस्थलअघिको भवनमा छन् । 

मंगलबार विहान चिकित्सकहरुको अनसनस्थल र डा. केसीलाई राखिएको ठाउँको बीचमा अचानक चर्को स्वरमा एउटा आवाज सुनियो– डा. साब कहाँ छन् ?

यो खिरिलो तर चर्को आवाज एउटा युवाको थियो । मैला कपडा लगाएका, टाउको ज्याकेटको हुड अड्याएका १३ वर्ष वरपरको जस्तो लाग्ने ती युवाले यो प्रश्न त्यही बाटो भएर हिँडिरहेका अर्का एक चिकित्सकलाई सोधेका थिए । 

१४ वर्षको एउटा सामान्य युवाको यो प्रश्नले सबैको ध्यान उनीतिर तान्यो । 

‘माथि अनसनमा हुनुहुन्छ,’ ती युवाले जवाफ पाए ।

त्यसपछि ती युवाको अनुहारमा थोरै खुसी छायो । आखिर एउटा १३ वर्षे ठिटो डा. केसीलाई किन भेट्न खोजिरहेको छ ? यो प्रश्नले ती युवाप्रति ध्यान आकृष्ट गर्यो । 

डा. केसी अनसनमा भएको जुन चिकित्सकले जवाफ दिएका थिए, उनैले ती युवालाई सोध्न ढिला गरेनन्– किन ?

‘म उनलाई भेट्न चाहान्छु ।’

ती युवाको यो उत्तरले ती चिकित्सकलाई झन् अचम्ममा पारेको हुनुपर्छ । उनले सोधे– किन ? 

‘हिजो टिभीमा डा साबलाई अक्सिजन लगाएको देखेको थिएँ,’ ती किशोरले सहजै जवाफ दिए । अनि अनुहार अँध्यारो बनाएर सोधे– किन अक्सिजन लगाएको ?

सायद, यो किशोरलाई थाहा छैन, डा. केसी अनसनमा छन् । 

जे होस्, डा. केसीको स्वास्थ्यबारे जानकारी लिन उनको उपचारमा संलग्न चिकित्सक डा. प्रमेश श्रेष्ठलाई कुरिरहँदा हामीले यी युवालाई फलो गर्ने निक्र्योल गर्यौँ ।

कुनै संवाद नगरी हामीले उनलाई फलो गर्यौँ ।

उनी डा. केसी अनसन बसिरहेको भवनको तेस्रो तलामा सरासर पुगे । त्यहाँ सुरक्षाकर्मी थिए । 

सुरक्षाकर्मीले उनलाई रोकिदिए । अनि उनले सुरु गरे अनुनय विनय । 

त्यसपछि उनले आफ्नो अस्त्र प्रयोग गरे । देब्रे हातको बाहुला माथि सारे । अनि सुरक्षाकर्मीलाई देखाए– डा. साबले मेरो यो अपरेसन गर्नुभाको हो ।

उनको रुन्चे स्वर, देब्रे हातको समस्या केहीले पनि सुरक्षाकर्मीको मन पगाल्न सकेन । उनी निराश भएर त्यहाँबाट फर्किए ।

हामी पनि उनकै पछाडि तल झर्यौँ । अनि हामीले सुरु गर्यौँ उनीसँग संवाद ।

‘तपाईंको नाम के हो ? किन भेट्न खोज्नु भएको डा. केसीलाई ?’

हाम्रो यो प्रश्नले सायद उनमा फेरि आशाको संचार भयो । उनले अनुहार उज्यालो बनाए र भने, ‘विकास ओली ।’ अनि फेरि थपिहाले, ‘मेरो यो हात जोड्नु भएकै डा. साबले हो ।’

विकासको घर रुकुम हो । अहिले उनी नयाँ बसपार्कमा एउटा होटलमा काम गर्छन् । त्यो होटल उनको आफन्तको हो, त्यसैले हातले नसकेका काम उनले गर्नु पर्दैन । 

सोमबार साँझ होटलमै काम गर्दागर्दै विकासका आँखा अचानक टिभीमा परे । टिभीमा समाचार आइरहेको थियो, डा. केसीको । झमक्कै साँझ परिसकेको थियो । टिभीमा डा. केसीलाई देख्ने वित्तिकै विकास टिचिङ आउन चाहन्थे । त्यसो त उनी त्यो विहान पनि टिचिङ आएका थिए, हातको थेरापी गर्न । तर, डा. केसी अनसनमा छन् भन्ने उनलाई थाहा नै थिएन । 

विकास फ्ल्यासब्याकमा दौडिए । ८ वर्षको हुँदा उनको हात भाँचिएको थियो । त्यति बेला उनी रुकुममा नै थिए । बुबाआमाले नजिकैको स्वास्थ्य चौकीमा लगे । त्यहाँ उनको हात जोडिने भएन । त्यसपछि दुःखसुख उनलाई बुबाले नेपालगन्ज पनि पुर्याए । तर, त्यहाँका चिकित्सकले पनि भनिदिए– यो हड्डी अब जोडिन मुश्किल छ ।

‘हामी समयमा नपुगेकाले मेरो हात नजोडिने भएको थियो,’ उनले लामो सास फेरे । 

त्यसपछिका चार वर्ष उनले नजोडिएको हात लिएरै यताउता गरे । ‘फनफनी घुम्थ्यो, भित्र हड्डी जोडिएको थिएन,’ विकासले फेरि बाहुला माथि सारे र सम्झिए, ‘छालाको भरमा मात्रै झुण्डिएको थियो ।’

एकदिन गोंगबु बसपार्कमा होटल सन्चालन गर्ने उनका आफन्त रुकुम पुग्दा भने, ‘काठमाडौंमा ठिक हुन्छ होला, ल हिँड ।’

तिनै होटलवाला विकासका आफन्तले विकासलाई अहिले पनि काठमाडौंमा बस्ने खाने व्यवस्था गरिरहेका छन् । उनले रुकुमबाट विकासलाई ल्याएपछि टिचिङ पुर्याए ।

चार महिनाअघि उनको हातको अपरेसन भयो । कुइनोमा स्टिल राखियो, हात जोडियो । 

विकासले छालाको भरमा मात्र झुन्ड्याइरहेको त्यो हातलाई जोडिदिने डाक्टर हुन्, डा. गोविन्द केसी । 

त्यो विहान उनी हातको फिजियो गर्नुभन्दा निकै अगाडि अस्पताल आइपुगेका थिए । उनले डा केसीको खोजी पनि गरे । भेटेका जति सबैलाई सोधे– डा. साब कता छन् ?

एउटा १३/१४ वर्षे ठिटोले यत्तिकै डा. साब भन्दै सोधेकाले हुनुपर्छ, कसैले पनि उनको कुरामा चासो दिएनन् । 

‘डाक्टर साहेब भेटेर नमस्कार गर्न चाहन्छु, मेरो हात जोडिएको छ, अब नमस्कार गर्न मिल्छ,’ विकासले भने, ‘डा. साबलाई अक्सिजन दिएर राखेको देखेको छु ।’

चार महिनाअघि अपरेसन गरेपछि निरन्तर फलोअपका लागि विकास टिचिङ आएरहेकै थिए । योबीचमा उनले पटक पटक डा. गोविन्द केसीलाई भेटेका पनि थिए । 

तर, एक महिनायता उनले डा. केसीलाई आफ्नो फलोअपमा भेटेनन् । त्यसैले पनि टिभीमा डा. केसीलाई देख्दा उनको मनमा हुटहुटी पैदा भयो ।

विकासको उग्र चाहना र मलिन अनुहारले हामीलाई उनको र डा. केसीको भेट गराउने चाहना उत्पन्न गरायो । हामीले उनलाई माथि लिएर गयौँ । 

सुरक्षाकर्मीलाई सबै बेलीविस्तार सुनायौँ । विकास ओलीले डा. गोविन्द केसीलाई नजिकबाट नमस्कार गर्न पाउने भए ।

कोठाभित्र छिर्नेवित्तिकै ओलीले भने, ‘डा. साब नमस्कार ।’

डा. केसीले पुलुक्क विकासलाई हेरे, मुस्कुराए । 

केही बेर त्यहाँ स्तब्धता छायो । ओली बाहिर निस्किए । 

हामी पनि ओलीसँगै बाहिर निस्कियौँ । भवनबाहिर निस्किसकेपछि ओली हामीतिर फर्किए र भने, ‘सधैं कस्तो छ तिमीलाई, खाजा खायौ, खाना खायौ भनेर सोध्नुहुन्थ्यो । आज बोल्न पनि सक्नु भएन ।’

फेरि एक पटक लामो सास फेरे ओलीले र डा. केसीले जोडिदिएको बायाँ हात उचालेर हामीलाई गरे बाईबाई ।

  • प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार १९:२१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया