ओलीले भने - निर्वाचन आयोग सत्तापक्षबाट लतारिएर नचलोस्

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले आगामी ४ मंसिरमा गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढंगले सम्पन्न गराउने आफ्नो दायित्व पूरा गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष ओलीले निर्वाचनको योबेला सत्तापक्षबाट लतारिएर नचल्न पनि निर्वाचन आयोगलाई सजग गराए । शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले निर्वाचनलाई प्रभावित हुने गरी निर्वाचन आयोगलाई हस्तक्षेप गर्ने कुनै पनि खालको काम नगर्न सरकारलाई समेत चेतावनी दिए । 

निर्वाचन आयोगमाथि हस्तक्षेपकारी भूमिका खेल्ने र  निर्वाचनलाई अस्वस्थ ढंगले प्रभावित गर्ने भूमिका सरकारले खेल्नु मनासिव हुँदैन, पाउँदैन भन्दै अध्यक्ष ओलीले आफूले त्यतापट्टि सरकारलाई सचेत गराउन चाहेको पटकपटक दोहोर्‍याए । 

उनले स्थानीय तहको निर्वाचनमा सरकारले राज्य स्रोतको चरम दुरुपयोग गरेर निर्वाचनलाई प्रभावित पार्ने काम गरेको उल्लेख गर्दै त्यस्ता खालका लोकतान्त्रिक पद्धति, प्रणाली र जनअपेक्षा विपरीतका काम गर्न नहुने पनि बताए । 

त्यस अवसरमा अध्यक्ष ओलीले निर्वाचनमा जाने कामलाई सत्तारूढ दलहरुले प्रतिगमन भन्ने गरेकोमा आपत्ति जनाए । 

निर्वाचन कहिल्यै पनि प्रतिगमन नहुने उनको तर्क थियो । ओलीले प्रतिनिधिसभाको पाँचवर्षे कार्यकाललाई सफल रहेको टिप्पणीसमेत गरे । 



संविधानको कार्यान्वयनका लागि कानुन निर्माण गर्ने, संरचना निर्माण गर्नेलगायतका तमाम काम गर्ने र शान्ति, सुव्यवस्थादेखि लिएर, सुशासनदेखि लिएर विकासका चौतर्फी प्रयासलाई, सामाजिक न्याय र समानता क्षेत्रका प्रयासलाई, त्यसै गरेर अन्य सम्बन्धमा प्रयासलाई अगाडि बढाउने काम गरेकाले संसदको यो कार्यकाल सफल रहेको ओलीको भनाइ थियो । 

उनले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालको नक्सा जारी गर्ने आफू नेतृत्वको सरकारको कामप्रति संकेत गर्दै राष्ट्रियताको सन्दर्भमा यो संसदले गरेको काम इतिहासमा कहिल्यै नमेटिने खालको रहेको बताए । 



अध्यक्ष ओलीले नागरिकता विधेयकलाई सत्तारुढ दलले आफ्नो राजनीतिक फाइदाको विषय मात्रै बनाएको भन्दै आक्रोश व्यक्त गरे ।

  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार १६:१९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया