खेल पूर्वाधार संरक्षणमा जिम्मेवार हुन स्थानीय तहलाई खेलकुदमन्त्रीको आग्रह

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले खेल पूर्वाधारको संरक्षण तथा मर्मत गर्ने दायित्व स्थानीय सरकारको रहेको बताएका छन् । शनिबार बर्दियाको बाँसगढी नगरपालिकास्थित वडा नं. ४ मा रहेको कवर्ड हलको निरीक्षण गर्दै मन्त्री अथकले केन्द्र तथा प्रदेश सरकारको लगानीमा निर्माण भएका खेल संरचनाको संरक्षणमा स्थानीय तहले भूमिका खेल्नुपर्ने बताएका हुन् । 

स्थानीय तहको सहभागिताविना कुनै पनि योजनाले पूूर्णता पाउन नसक्ने बताउँदै मन्त्री अथकले पालिका तथा वडास्तरबाट खेल पुर्वाधार निर्माणका लागि बजेटको केही अंश छुट्टयाउन समेत आग्रह गरे । निर्माणाधिन अवस्थामा रहेका तथा निर्माण सम्पन्न भइसकेका खेल संरचनालाई बचाइराख्न स्थानीय स्तरमा खेल गतिविधिलाई समेत निरन्तरता दिनुपर्ने उनको भनाइ थियो । 

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ४ मगरपुरमा कबर्ड हल निर्माण गरिएको थियो । केन्द्र सरकारको २ करोड १० लाख लागतमा निर्माण भएको उक्त संरचनामा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कबड्डी खेल सञ्चालन भए पनि त्यसयता उक्त कबर्ड हल प्रयोगविहीन हुँदै आएको गुनासो बढेपछि मन्त्री अथकले शनिबार स्थलगत निरीक्षण गरेका हुन् । 

अनुगमनका क्रममा स्थानीयहरुले कबर्ड हलको चारैतर्फ पर्खाल तथा चेन्जिङ रुम सहित खेलाडीका लागि आवास गृह निर्माणका लागि पहल गरीदिन मन्त्रीलाई आग्रह गरेका थिए । खेल संरचना खडा भए पनि त्यसले पूर्णता नपाउँदा खेल गतिविधि सञ्चालन गर्न नसकिएको भन्दै उनीहरुले आवश्यक बजेट विनियिोजन गरिदिन आग्रह गरेका हुन् ।

यसैबिच शनिबार नै मन्त्री अथकले बाँसगढी नगरपालिका वडा नं. ८ को हिरापुरमा रहेको नगरस्तरीय खेल मैदानको समेत अनुगमन गरे । १२ बिघा क्षेत्रफलमा फैलिएको उक्त मैदानलाई जिल्लाकै महत्त्वपूर्ण खेल मैदानका रुपमा विकास गर्न सकिने बताउँदै मन्त्री अथकले त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्न पहल गर्ने प्रतिबद्धता जनाए । 





  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार २०:४०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया