जबरालाई जोगाउन एमालेले षड्यन्त्र गर्‍यो : वरिष्ठ अधिवक्ता बिडारी
‘जबराविरुद्धको महाअभियोग अब आउने संसदले हेर्छ’

राष्ट्रियसभाका पूर्वसदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले नेकपा (एमाले) ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई जोगाउनका लागि षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । आइतबार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

बिडारीले एमालेले  जबराको विषयमा षडयन्त्रपूर्वक कुरा गरेर हिँड्नु गलत रहेको पनि बताए । ‘समितिमा फरक मत आउनु पनि राम्रो कुरा होइन । नेकपा (एमाले) नाम गरेको पार्टीले चोलेन्द्र जस्तो भ्रष्टाचारीको पक्षलाई जोगाउनको निम्ति आले-टाले कुरा गरेर प्रक्रिया पुगेको छैन, हेर्न बाँकी छ भन्दै जालसाजी र षडयन्त्रपूर्वक कुरा गरेर हिँड्नु गलत हो । यस्तो गर्नु राम्रो होइन,’ बिडारीले भने, ‘बहुमतको निर्णय लागू हुन्छ जहाँ पनि । आफ्नो बर्चस्व केही नचल्ने भएर, चोलेन्द्रलाई चोख्याउनुको निम्ति एमालेले खेलेको षड्यन्त्र हो ।’ 

उनले महाभियोगको प्रक्रिया ढिलो भयो भनेर भ्रष्टाचारीले उन्मुक्ति पाउनु नहुने पनि बताए । बिडारीले प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव निर्वाचनपछि आउने प्रतिनिधिसभाले हेर्ने पनि बताए ।

उनले प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव ४ मंसिरको निर्वाचनपछि आउने प्रतिनिधि सभाले हेर्ने बताएका हुन् । उनले संसद् जीवित रहेको पनि बताए ।

‘महाअभियोग राष्ट्रिय सभामा जाँदैन, त्यो प्रतिनिधि सभाले हेर्छ । अब आउने संसदले हेर्छ । आवश्यक पर्‍यो भने अहिले पनि संसद् भंग भएको छैन, विघटन भएको छैन । यो संसद् अहिले पनि अधिवेशन अन्त्य भएको हो । त्यसकारणले यति कुरा पनि नबुझेको जस्तो गरी मान्छेले भुत्भुताउँछन्,’ बिडारीले भने, ‘अधिवेशन आवश्यक भयो भने त एक चौथाइले फेरि बोलाउन सक्छ । १५ दिनभित्र अधिवेशन बस्छ । त्यसकारणले त्यो गर्नु पनि परेन, अब अधिवेशन बस्दैन । अब आउने निर्वाचनबाट नयाँ आएको संसदले अब हेर्छ ।’





  • प्रकाशित मिति : असोज २, २०७९ आइतबार १३:५७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया