सकियो प्रदेश सरकारको कार्यकाल, यस्तो रह्यो सांसदहरूको पाँच वर्षे अनुभव
पाँच वर्षे कार्यकालमा तीन जना मुख्यमन्त्री बने भने ३७ जना मन्त्री बने

बागमती प्रदेश सरकारको पहिलो कार्यकाल शनिबार राती १२ बजेबाट सकियो । प्रदेशमा एक सय १० जना सांसद रहेकोमा पाँच वर्षे कार्यकालमा तीन जना मुख्यमन्त्री बने भने ३७ जना मन्त्री बने । 

सरकार परिवर्तनको प्रभावले प्रदेश सकारको पहिलो कार्यकाल मन्त्री हेरफेर र आरोप प्रत्यारोपमै बित्यो । संघीय सरकारको नक्कल गर्दै सञ्चालन भएको प्रदेश सरकारले पाँच वर्षे कार्यकालमा नागरिकहरूले अपेक्षा गरे अनुसारको काम गर्न नसकेका गुनासा धेरै सुनिए ।

त्यसो त, प्रदेशका सांसदहरु आफूले पाँच वर्षको कार्यकालमा धेरै कुराहरु सिक्दै मा बितेको बताएका छन् । प्रदेश सञ्चालन गर्ने पहिलो अभ्यास स्वरुप काम गर्नको लागि आधारहरू तय गरेको प्रदेश सांसदहरु बताउँछन् । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल तीन वर्ष भन्दा लामो समय मुख्यमन्त्री पद सम्हाल्दा त्यतिबेलाको परिस्थिति अनुसार आफ्नो कार्यकालमा धेरै काम गर्न सकेको बताए । 

सबै कुराहरू गर्न नसकिए पनि धेरै कामहरू भएको बताउँदै, प्रदेश सरकारको पहिलो अभ्यास सिक्दै विकासको काममा पनि योगदान गरेको उनी बताउँछन् । भन्छन् - ‘अघिल्लो वर्षसम्म मुख्यमन्त्री थिएँ । पछिल्लो एक वर्ष संसदको भूमिकामा रहँदा पनि जति गर्नुपर्ने हो त्यति गरेको थिए । यो कार्यकाल सफल नै रहेको अनुभूत गरेको छु ।’ 

त्यसो त बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे केही समय अलमलतामा बिते पनि आफू मुख्यमन्त्री भएपछि प्रदेशमा राम्रा कामहरू मात्रै भएको दावी गर्छन् । साँढे तीन वर्ष भन्दा बढी सांसद रहँदा र मुख्यमन्त्री सम्हाल्दा धेरै कुराहरूको पाठ आफूले सिकेको मुख्यमन्त्री पाण्डेको भनाइ छ । 

‘सांसद मात्रै रहँदा त्यति अधिकार नपाए पनि मुख्यमन्त्री भएपछि धेरै कामहरू गर्ने मौका पाएको छु,’ उनले भने, ‘यो अवधिमा प्रदेशको शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतका पूर्वाधारको योजनाहरू अघि बढायौँ । अघिल्लो सरकारले बनाउन नसकेको मन्त्रालय भवनका लागि जग्गाको स्थान तोक्न सफल भएका छौँ । यो समग्र विषयलाई हेर्दा पाँच वर्षे कार्यकाल राम्रै रह्यो । सिक्दै काम गर्ने मौका पनि मिल्यो । चुनौतीहरू पनि धेरै खेपियो ।’



विवेकशील साझाका प्रदेश सांसद रमेश पौड्याल पनि यो अवधि उपलब्धि मूलक भएको बताउँछन् । पहिलो कार्यकालमा कस्ता काम भए भन्दा पनि जग बसाउनको लागि प्रदेश सरकार र सांसदको भूमिका कस्तो रह्यो भन्ने कुरा महत्त्वपूर्ण भएको बताउँदै, शून्य लेबलबाट सुरु भएको प्रदेश पाँच वर्षमा यत्तिको स्तरमा आउनु पनि चुनौतीपूर्ण नै भएको उनी बताउँछन् । 

सांसद पौड्यालले भने, ‘विकासको काममा भने प्रदेश सरकार पछाडि परेकै छ । पहिला दुई वर्ष कोभिडका कारण थला परेर बल्लतल्ल उठ्न सकेको बेला सरकार परिवर्तनको प्रभावले पनि विकासमा भने कायापलट हुन सकेन । तर समग्रमा आफ्नो अनुभव भन्नुपर्दा प्रदेश सभा सांसद पदबाट धेरै कुराहरू सिकियो । संसदको पहिलो अनुभव निकै रमाइलो नै रह्यो । आफू चुनिएर आएको क्षेत्रको विकासको लागि धेरै पहलहरू पनि गरियो ।’ 



स्वास्थ्य मन्त्रालय बागमती प्रदेशको स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली पनि सांसद भएर काम गर्नु भन्दा राज्यमन्त्री सम्हाल्दा धेरै कुराहरू सिक्ने अवसर पाएको बताउँछिन् ।  उनले भनिन्, ‘महिला, त्यसमा पनि दलित महिला भएर समानुपातिक बाट संसद बनेर प्रदेश सभामा आउँदा यो कार्यकालमा धेरै कुराहरू अनुभव गर्न पाइएको उनको भनाइ छ । स्वास्थ्य राज्यमन्त्री भइरहँदा गर्न खोजेका कति कामहरू पूरा भएनन् । कति कुराहरू पूरा भए । गर्न बाँकी कामहरू धेरै रहे पनि समय सकिसकेको छ । समग्रमा भन्दा पाँच वर्षे कार्यकाल राम्रै भयो ।’  

  • प्रकाशित मिति : असोज २, २०७९ आइतबार १७:२३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया