३८ महिनामा बझाङमा १०३ जनाले आत्महत्या गरे

बझाङमा आत्महत्याको दर बढ्न थालेको छ । ३८ महिनामा बझाङमा १०३ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा पुरुषभन्दा महिला बढी छन् ।

तीन वर्ष दुई महिनामा ६१ महिला र ४२ पुरुष गरी १०३ जनाले आत्महत्या गरेका हुन् । आत्महत्याका घटना हरेक वर्ष बढ्दै गएको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६–०७७ मा २० महिला र ९ पुरुष गरी २९, आर्थिक वर्ष २०७७–०७८ मा १९ महिला र १७ पुरुष गरी ३६, आर्थिक वर्ष २०७८–०७९ मा १७ महिला र १२ जना पुरुष गरी २९ र आर्थिक वर्ष २०७९–०८० को दुई महिनामा ५ जना महिला र ४ जना पुरुष गरी ९ जनाले आत्महत्या गरेका छन् ।

विगतको तुलनामा पछिल्लो तीन वर्ष दुई महिनामा आत्महत्या गर्नेको संख्या बढेको देखिन्छ । जिल्लामा सबैभन्दा बढी आत्महत्या गर्नेमा जयपृथ्वी नगरपालिकामा छन् ।

यस अवधिमा जयपृथ्वी नगरपालिकाका २० जनाले आत्महत्या गरेका छन् भने बुंगल नगरपालिका र खप्तडछान्ना गाउँपालिकाका १५–१५ जनाले आत्महत्या गरेका छन् ।

त्यस्तै, मष्टा गाउँपालिकाका ९, सुर्मा, दुर्गाथली र केदारस्युँ गाउँपालिकाका ८–८, वित्थडचिर गाउँपलिकाका ६, तलकोट गाउँपालिकाका ५, छविसपाथिभेरा र थलारा गाउँपालिकाका ४–४ र सबैभन्दा कम साइपाल गाउँपालिकाका १ जनाले मात्रै आत्महत्या गरेको प्रहरीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।



जिल्ला प्रहरी कार्यालय बझाङले विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा सार्वजनीक गरेको तथ्यांकअनुसार प्रेममा असफल, शैक्षिक असफलता मानसिक असन्तुलन, शारीरिक पीडा लगायतका कारण आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी जागेश्वर भण्डारीले आत्महत्याले सामाजिक र मनोवैज्ञानिक असर गर्ने भएकाले यसलाई रोकथाम तथा नियन्त्रण गर्ने सबैको दायित्व रहेको बताए ।
 



  • प्रकाशित मिति : असोज २, २०७९ आइतबार १८:४२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया