यू-२० एसियन कप छनोटमा बंगलादेशसँग पराजित नेपाल जितविहीन

बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटमा नेपाल जितविहीन बनेको छ । गएराति समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग ३–० ले पराजित भएपछि नेपाल जितविहीन बनेको हो ।

समूह ‘बी’ अन्तर्गतको खेलमा बंगलादेशलाई जित दिलाउन मोजिबोर जोनी, पियास नोभा र साजिद हसन निजुमले एक/एक गोल गरे । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा भएको खेलमा नेपाल ९ र बंगलादेश १० खेलाडीमा समेटिएका थिए ।

खेलको छैटौं मिनेटमा जोनीले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । १० औं मिनेटमा नोभाले टोलीको अग्रता दोब्बर बनाए ।

२६ औं मिनेटमा नेपालका डिफेन्डर अजय चौधरीले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा समेटियो । बंगलादेशी खेलाडीलाई कुहिनाले हान्दै फउल गरेपछि उनले रातो कार्ड पाएका हुन् ।

३५ औं मिनेटमा नेपाल ९ तथा बंगलादेश १० खेलाडीमा समेटिए । कप्तान आयुष घलानले रातो कार्ड पाएपछि नेपाल ९ खेलाडीमा समेटियो । बंगलादेशका अजिजुल हक एनान्टोलाई अभद्र व्यवहार गरेपछि आयुषलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए ।

अजिजुलले दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाडेपछि बंगलादेश पनि १० खेलाडीमा समेटिएको थियो । उनले आयुषलाई जिस्काएका थिए ।



५२ औं मिनेटमा निजुमले गोल गर्दै बंगलादेशलाई ३–० को जित दिलाए । यो हारसँगै नेपालले अंकविहीन रहँदै  पुछारमा रहेर प्रतियोगिताको अन्त्य गर्‍यो ।

यसअघि नेपाल भुटानसँग २–०,  कतारसँग ३–१ र आयोजक बहराइनसँग ६–० ले पराजित भएको थियो । दोस्रो जित निकालेको बंगलादेशले चार खेलमा सात अंक जोड्यो ।



यसअघि बहराइनसँग गोलरहित बराबरी खेले बंगलादेशले भुटानलाई २–१ ले हराउँदा कतारसँग ३–० को पराजय बेहोरेको थियो । 

  • प्रकाशित मिति : असोज ३, २०७९ साेमबार ६:४३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया