काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपालले बंगलादेशको सामना गर्दैछ । फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ५ बजेबाट सुरु हुनेछ । दुवै टोली आज उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछन् ।
नेपाल साबिक विजेता भारतलाई १–० तथा बंगलादेश भुटानलाई ८–० ले पराजित गर्दै उपाधि नजिक पुगेका हुन् । फाइनल खेल जुन टोलीले जिते पनि नयाँ इतिहास बन्नेछ । हालसम्म नेपाल र बंगलादेशले साफको उपाधि जित्न सकेका छैनन् ।
यसअघिका पाँचवटै संस्करणको उपाधि भारतले जितेको थियो । नेपाल पाँचौंपटक साफ फाइनल खेल्दैछ । नेपालले यसअघि २०१०, २०१२, २०१४ र २०१९ को फाइनल खेलेको थियो ।
बंगलादेश २०१६ पछि साफ फाइनल खेल्न लागेको हो । साफ इतिहासलाई हेर्ने हो भने नेपाल बलियो देखिन्छ । नेपाल र बंगलादेशले हालसम्म तीन खेलमा एकअर्काको सामना गर्दा सबै खेल नेपालले जितेको छ ।
सन् २०१० मा पहिलो संस्करणको साफ सेमिफाइनलमा नेपाल ३–० ले विजयी भएको थियो । २०१४ को साफ सेमिफाइनलमा पनि नेपाल १–० ले विजयी भयो ।
२०१९ को पछिल्लो साफमा नेपाल र बंगलादेशले समूह चरणमै एकअर्काको सामना गर्दा नेपालले ३–० को जित निकालेको थियो । इतिहास जे जस्तो भए पनि वर्तमान समयमा बंगलादेश बलियो बनेको छ । यसलाई नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापा पनि स्विकार्छन् ।
उनले फाइनल अघिको प्रि–म्याच कन्फरेन्समा भनेका थिए, ‘इतिहास कस्तो थियो भन्नेमा मलाई कुनै वास्ता छैन । वर्तमान समयमा बंगलादेश निकै बलियो टोली हो । उनीहरूको टोली युवा छ । युवा जोसलाई रोक्न पक्कै पनि सहज हुनेछैन । तर, हामीसँग भएका अनुभवी र युवा खेलाडीलाई राम्रोसँग प्रयोग गर्न सक्यौं भने उपाधि जित्ने छौं भन्ने विश्वास छ ।’
बंगलादेश प्रशिक्षक गोलोम रिब्बानी छोटेनले घरेलु टोलीसँग खेल्न कठिन हुने भए पनि आफूहरू त्यसका लागि तयार रहेको बताए । उनले भने, ‘नेपाल बलियो टोली हो त्यसमाथि उसलाई घरेलु दर्शकको राम्रो साथ रहनेछ । घरेलु दर्शकसामु खेल्न निकै कठिन हुनेछ । तर, हामीसँग यस्तो माहोलमा खेलेको अनुभव छ । खेलाडी शारिरिक तथा मानसिक रूपमा फाइनलका लागि तयार छन् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।