कात्तिकदेखि बागमतीमा सफा पानी, धाप परियोजनाको ९८ प्रतिशत काम सकियो

बागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै आगामी कात्तिकबाट नदीमा सफा पानी बग्ने भएको छ । काठमाडौं उपत्यकाकै (काठमाडौं, ललितपुर र भक्तपुर) आकर्षक बागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएको हो ।

गोकर्णेश्वर नगरपालिका–१ मा पर्ने बागमती धाप परियोजनामा जम्मा गरिएको पानी आगामी २९ असोजपछि बागमती नदीमा पठाउने तयारी भइरहेको छ । समुन्द्री सतहबाट २ हजार ८० देखि ९० मिटरको उचाइमा मानव निर्मित यति ठूलो पोखरी नेपालमै पहिलो भएकाले पनि यसलाई आकर्षक मान्ने गरिएको छ । 

साथै, यो धाप नेपालमै पहिलो सीएफआरडी ड्याम पनि हो । उपत्यकाको उत्तरपश्चिम चुचुरो मूलखर्क गाउँको सिरानमा बनिरहेको कृत्रिम ताल निर्माणको लागत ४५ करोड रुपैयाँ हो । यो ताल आठ हेक्टर अर्थात् १५८ रोपनीमा फैलिएको छ । सन् २०१५ देखि ड्यामको काम सुरु गरिएको थियो । यो धापमा २४ मिटर अग्लो बाँध हुने र बाँधमा वर्षायाममा परेको पानी र विभिन्न जलाधार क्षेत्रबाट आएको पानी संकलन गरिनेछ । यो क्षेत्र आफैँमा धाप क्षेत्र पनि हो ।

निर्माण हुँदै गरेको धाप बाँधले सुख्खायाममा प्रतिसेकेण्ड ४० लिटरका दरले वागमतीमा आठ महिनासम्म पानी छोड्न मिल्नेछ । ढलको व्यवस्थापन प्रभावकारी हुनसके र सँगसँगै फोहोर व्यवस्थापन भएको खण्डमा त्यसले वागमतीको शिरदेखि चोभारसम्म नै सफा पानी बग्नेछ । आयोजनाका प्रमुख इन्जिनियर निश्चल छतकुलीले काठमाडौं उपत्यकामा पानीको उपलब्धता र पानीको गुणस्तर दिनहुँ घट्दै गइरहेको अवस्थालाई मध्यनजर गरेर धाप निर्माण गरेको बताए ।

उनले वागमतीमा पानीको वहाव र पानीको गुणस्तर बढाउनको लागि विभिन्न स्थानमा धापहरूको निर्माण गरी स्नानयोग्य बनाउने उद्देश्यले धाप निर्माण गरेको बताए । उनले हालसम्म ९८ प्रतिशत काम सम्पन्न भएको बताए । धापबाट वागमतीमा पानी पठाइसकेपछि पनि नुहाउनयोग्य बनाउनको लागि ४५० लिटर जति सफा पानी मिसाउनुपर्ने जायिकाको अध्ययनले देखाएको बताए ।



‘गोकर्णेश्वर–१ स्थित शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र निर्माण गरिएको धाप हो । यो आयोजना सुरु गर्नुको मुख्य उद्देश्य काठमाडौं उपत्यकामा पानीको उपलब्धता र पानीको गुणस्तर दिनानुदिन घट्दै गइरहेको छ । त्यसै सन्दर्भमा जायिकाले लामो समयदेखि अध्ययन गरेर काठमाडौं उपत्यकामा आउने मेलम्चीको पानी आइसके पनि वागमतीमा पानीको वहाव र पानीको गुणस्तर बढाउनको लागि विभिन्न स्थानमा प्लान्टहरू बनाउनुपर्ने र प्लान्टबाट वागमतीमा पठाइसकेपछि पनि नुहाउनयोग्य बनाउनको लागि ४५० लिटरजति फ्रेस वाटर मिसाउनुपर्ने जायिकाको अध्ययनले देखायो । त्यसैगरी वागमती परियोजनामा वागमती कार्ययोजनाले पनि बागमती नदीमा पानीको गुणस्तर र मात्रा बढाउनको लागि प्रमुख उद्देश्यको रुपमा वागमती कार्ययोजनाले लिएको छ,’ छतकुलीले भने ।

धाप क्षेत्र पर्यटन प्रवद्र्धनको लागि पनि मुख्य स्थल बन्ने अध्ययनले देखाएको उनले बताए । जसकरण पनि पर्यटन गुरुयोजना बनाएर नै काम अघि बढाउने तयारी भइरहेको छतकुलीको भनाइ छ । भ्याटबाहेक ४५ करोड रुपैयाँ र भ्याटसहित जोड्दा ५१ करोड रुपैयाँ बढी रकममा धाप निर्माण सुरु गरिएको उनले बताए । 



प्रमुख इन्जिनियर छतकुलीले धाप ड्याम नजिकै शिवपुरी निकुञ्ज क्षेत्रमा अर्को बाँधको अध्ययन र विस्तृत डिजाइन वातावरणीय अध्ययन भइरहेको पनि बताए । धाप ड्याममा जम्मा भएको पानी नागमतिको ड्याममा जम्मा भएपछि क्रमशः पानी छोड्दै जाँदा वागमतीमा मिसिन्छ । 

यो पानीबाट विद्युत निकाल्ने उद्देश्य रहेको छ भने वागमती नदीको सफाइ गर्ने अभियान पनि यसैसँग जोडिएको छ ।  

बाँधबाट चार मेगावाट विद्युत उत्पादन गर्न सकिनेछ भने त्यसले जलाधार क्षेत्र र उपत्यकामा जमिनमुनिको पानी पुनःभरण (रिचार्ज) गर्न ठूलो सहयोग गर्नेछ । सुन्दरीजलबाट नागमति ड्याम पुग्न पाँच किलोमिटर मात्र छ ।  

  • प्रकाशित मिति : असोज ३, २०७९ साेमबार १२:११:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया