मुख्यमन्त्री भट्टले भने - काम गर्न सकेनौँ, व्यवस्था माथि प्रश्न उठ्यो

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नागरिकका चाहना अनुसार काम गर्न नसक्दा समग्र व्यवस्थामाथि प्रश्न उठ्न थालेको बताएका छन् । नागरिकका चाहना अनुसार काम गर्न नसक्नुको कारण संविधानको मर्म अनुसार रूपान्तरण हुन नसक्नु रहेको उनको भनाई छ । 

संविधान दिवसका अनुसार सोमबार धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले भने, ‘व्यवस्था परिवर्तन भए पनि हाम्रो काम गर्ने शैली पुरानै भयो, पुरानै तरिकाले काम गरेर जनताका चाहना पुरा हुने स्थिति देखिएन, काम गर्ने शैली परिवर्तन हुन जरुरी छ ।’

व्यवस्था परिवर्तन भए पनि त्यस अनुसार व्यक्ति र शासन गर्ने शैली परिवर्तन नभएको उनले स्वकारले ‘हामी पुरानै तरिकाले काम गरिरहेका छौँ,’ मुख्यमन्त्री भट्टले भने, ‘पुरानै शैलीमा काम गरेर जन आकाङ्क्षा पुरा हुन सकेनन्, त्यसैले अहिले व्यवस्था माथिनै प्रश्न उठ्न थालेको छ, यस विषयमा सबै गम्भीर बन्नु जरुरी छ ।’

मुख्यमन्त्री भट्टले हजारौँको बलिदानी पछि आएको संविधान कार्यान्वयन गर्न र जनअपेक्षा अनुसार काम गर्न राष्ट्रिय एकता अपरिहार्य रहेको बताए । ‘राष्ट्रिय सहमति भएका कारण मात्रै संविधान जारी भयो,’ मुख्यमन्त्री भट्टले भने, ‘त्यस पछि राजनीतिक सहमति जुट्न सकेको छैन, राष्ट्रिय सहमति विना संविधान पूर्ण कार्यान्वयन हुन सक्दैन ।’

मुख्यमन्त्री भट्टले प्रदेश सरकारले कहीँ गरेन भन्ने आरोपको भने खण्डन गरे । प्रदेश सरकार बनेपछि गाउँ गाउँमा विकास भएको र प्रदेश सरकारको काम गाउँमै देखिएको उनले बताए । ‘एकात्मक शासन व्यवस्था हुँदा र प्रदेश सरकार बनेपछि के परिवर्तन भयो भन्ने कुरा गाउँमा गएर हेर्दा देखिन्छ,’ उनले भने, ‘सहरमा दुई चार जनाले कुरा काटेर हुँदैन, परिवर्तन भएको पनि देख्नु पर्दछ ।’

प्रदेश सरकार बनेपछि गाउँमा थोरै भए पनि राज्यको उपस्थिति भएको उनले बताए । विभिन्न कारणले गर्दा जनताले चाहे अनुसार काम नभए पनि गाउँ गाउँमा भने विकासको जग बसेको उनले बताए ।





  • प्रकाशित मिति : असोज ३, २०७९ साेमबार ११:४०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया