काठमडौं– सरकारले डा. गोविन्द केसीको अनशनको औचित्य सकिएको बताएको छ । बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता, सञ्चार तथा सूचना–प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले डा. केसीका माग पूरा भइसकेकाले उनको अनशनको औचित्य सकिएको बताएका हुन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट चिकित्सा शिक्षा विधेयक पास भइसकेको अवस्थामा अनशन जारी राख्नुको कुनै औचित्य नरहने उनको तर्क छ ।
गत साउनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सहमतिअनुसार नै विधेयक बनेको बताउँदै मन्त्री बाँस्कोटाले केसीलाई माग पूरा भएको खुसियालीमा अनशन छाड्न् आग्रह गरे । ‘डा. साबले अब माग पूरा भएको खुसियालीमा अनशन छाड्ने । उक्साउन हिँड्नेहरुको भ्रमबाट मुक्त हुने । यो चिसो मौसममा उहाँलाई तातो चिज खान दिएर स्वस्थ बनाउने,’ मन्त्री बाँस्कोटाले भने ।
सरकारले डा. केसीको मागअनुसार नै विधेयक बनाएकाले चिकित्सा क्षेत्रको विषय अब सकिएको उनले बताए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डा. केसीको अनशनलाई लिएर संसद् अवरुद्ध गरिरहेकोतर्फ संकेत गर्दै मन्त्री बाँस्कोटाले भने, ‘केही मान्छेको हठले संसदीय प्रक्रियालाई बन्धक बनाउने कुरा उपयुक्त हुँदैन ।’
सरकारलाई अधिनायकवादी भन्नु कुन्ठा मात्र भएको उनको टिप्पणी छ । ‘सरकारलाई बारम्बार अधिनायकवादी भन्ने, दुईतिहाईको दम्भ देखायो भन्ने कुरा उचित होइन,’ उनले भने, ‘यो कुन्ठा हुन सक्छ, तर्क होइन ।’
यता, डा. केसी भने यो विधेयकसँग सन्तुष्ट छैनन् । आफूसँग भएको सम्झौताविपरीत सरकारले चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै १६औँ पटक अनशन बसेका डा. केसी २३ दिनदेखि भोकै छन् ।
माघ १४ गतेको मन्त्रिपरिषद्ले गरेका निर्णय
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।