\
त्रिदेशीय सीमा जोडिएको दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेबल पुलको शिलान्यास गरिएको छ । सोमबार महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धारचुला तहसिल बलुवाकोट नजिकको छारछुम जोड्ने पुलको संयुक्त रूपमा शिलान्यास गरिएको हो ।
नेपालतर्फ नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र भारततर्फ उत्तराखण्डका मुख्यमन्त्री (सीएम) पुष्करसिंह धामीले संयुक्तरुपमा शिलान्यास गरेका हुन् । भारतीय पक्षले निर्माण गर्ने एक सय १० मिटर लम्बाइको उक्त मोटरेबल पुलको शिलान्याससँगै त्रिदेशीय सीमा जोडिएको क्षेत्रमा अन्तर देशीय पुल निर्माणले व्यापारिक मार्गमा जोडिने विश्वास गरिएको छ ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले दार्चुला अब अन्तर देशीय व्यापारको हब बन्ने विश्वास व्यक्त गरे । उनले सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक नाकाको रूपमा लिनुपर्ने बताए ।
पुलबाट चीनसँगको ताँलाकोट नाका १३४ किलोमिटर र तराईको बह्मदेवमण्डी २२१ किलोमिटर दूरीमा पर्छ । पुल निर्माणको सुरुवातले दार्चुलाको विकास तथा उनन्तीको ढोका खुलेको उनको भनाइ छ । नेपाल–भारत जोड्ने मोटरेबल पुल निर्माणपश्चात् दार्चुला जिल्ला सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र बन्ने सम्भावना बढेको दार्चुला उद्योग वाणिज्य संघका महासचिव सर्पराज बडूले बताए ।
पुल निर्माणले नेपाल–भारतको सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ । व्यापारिक सँगै नेपाल भारतका नागरिकबीच सामाजिक सम्बन्ध जोड्न यो पुल सजिलो हुने स्थानीयको बुझाइ रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।