\
नेपाली राष्ट्रिय महिला फुटबल टिमका तीन खेलाडीले अन्तराष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन् । डिफेन्डर पुनम जर्घा मगर, मिडफिल्डरहरू दीपा राई र इन्दिरा राईले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन् ।
उनीहरूले सोमबार सम्पन्न छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको फाइनलपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका हुन् ।
राखेप सदस्य सचिव टंकलाल घिसिङले तीनै जना खेलाडीलाई ब्लेजर लगाएर बिदाइ गरेका थिए । तीनै खेलाडीले विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट घरेलु फुटबल खेल्ने गर्छन् ।
पुनम जर्घा मगर
२०१४ मा पाकिस्तानमा भएको साफ च्याम्पियनसिपबाट राष्ट्रिय टोलीका लागि डेब्यु गरेकी पुनमले राष्ट्रिय टिमका लागि ३९ खेल खेल्दा एक गोल गरिन् ।
२९ वर्षीया पुनम स्वास्थ्य समस्याका कारण टोली बाहिर थिइन् । यसै साफमा प्रशिक्षक कुमार थापाले उनलाई पुनरागमन गराएका थिए । उनले यो प्रतियोगिताका चारै खेल खेलिन् ।
दीपा राई
२०१४ मा पाकिस्तानमा भएको साफ महिला च्याम्पियनसिपबाट घरेलु टोलीविरुद्ध खेल्दै राष्ट्रिय टोलीका लागि डेब्यु गरेकी दीपाले त्यसपछि लगातार राष्ट्रिय टिममा स्थान बनाइ राखेकी थिइन् ।
३३ वर्षीय दीपाले राष्ट्रिय टोलीबाट ३६ खेल खेल्दा एक गोल गरेकी छन् । उनी जारी साफमा श्रीलंकाविरुद्ध ८५ औं मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेकी थिइन् ।
इन्दिरा राई
इन्दिराले २०१८ मा चीनमा भएको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीका लागि डेब्यु गरेकी हुन् । ३१ वर्षीया इन्दिराले राष्ट्रिय टिमबाट जम्मा पाँच खेल मात्र खेलेकी छिन् ।
उनी छैटौं साफमा बेन्चमै सीमित भएकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।