मन्त्रिपरिषद् निर्णय
बन्ने भयो आपूर्ति कम्पनी

काठमाडौं– सरकरले नेसनल टेड्रिङ लिमिटेड र नेपाल खाद्य संस्थान मिलाएर आपूर्ति कम्पनी बनाउने प्रक्रिया अघि बढाउन स्वीकृति दिएको छ । बिहीबार मन्त्रिपरिषद्का निर्णय सुनाउने नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना–प्रविधि मन्त्री गोकुल बाँस्कोटाले उपयुक्त नामसहित छुट्टै कम्पनीमा रुपान्तरण गर्न स्वीकृति दिएको बताए । 

मन्त्रिपरिषद्को स्वीकृति पाएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेसनल ट्रेडिङलाई खाद्य संस्थानमा गाभेर नयाँ आपूर्ति कम्पनी निर्माण प्रक्रिया अघि बढाउनेछ ।

२०३१ सालमा स्थापित खाद्य संस्थानलाई नेसनल ट्रेडिङसँग मर्ज गर्न गत आर्थिक वर्षको बजेट भाषणमार्फत सरकारले घोषणा गरेको थियो । खाद्य संस्थानसँगै उसको स्वामित्वमा रहेको २५ अर्ब बराबरको सम्पत्ति र दायित्वसमेत अब नेसनल ट्रेडिङमै गाभिनेछ ।

साउन २५ गते बसेको मन्त्रिपरिषद् बैठकले आपूर्ति कम्पनी बनाउने निर्णय गरेको थियो । उक्त निर्णयपछि संस्थान र ट्रेडिङ समायोजन गर्नका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुझाब संकलन कार्यदल गठन गर्यो । सहसचिव नवराज ढकाल नेतृत्वको कार्यदलले संस्थानलाई पुनःसंरचना गरी बन्ने कम्पनीको मोडालिटी प्रतिवेदन तयार पारेर मन्त्रिपरिषद् बैठकमा लगेको थियो ।

अर्थ मन्त्रालय, वाणिज्य मन्त्रालय, खाद्य संस्थान र नेसनल ट्रेडिङ सदस्य रहेको उक्त कार्यदलले दसैँअघि नै सुझाब पेस गरेको थियो ।

२०७४ माघदेखि नै नेसनल ट्रेडिङ खारेज गर्ने चर्चा चले पनि चैतमा नयाँ सरकार बनेपछि ट्रेडिङलाई नै ब्युँताउने तयारीमा नयाँ सरकार लागेको चर्चा चुलिएको थियो ।  तर, बजेट भाषणमार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले ट्रेडिङ र संस्थानलाई मर्ज गर्ने घोषणा गरे । 



लगत्तै कार्ययोजना बनाएर काम थालेको मन्त्रालयले सबै प्रक्रिया सकिँदासमेत अन्तिम निर्णय गर्न सकेको थिएन । कार्ययोजनाअनुसार गत कात्तिक मसान्तसम्ममा समायोजन भइसक्नुपर्ने भए पनि साढे दुई महिनापछि मात्रै सरकारले अन्तिम गाँठाे फुकायाे । 



  • प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार १९:४२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया