धनुषा-२ बाट स्वतन्त्र उम्मेदवारी दिने कारी यादवको घोषणा
फरकधार / ४ असोज, २०७९

आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेले आ-आफ्नो घोषणा सुरु गरिसकेका छन् । यहीबीच प्रतिनिधिसभा निर्वाचनमा कारी यादव (मास्टर साहेब) ले पनि उम्मेदवारी दिने घोषणा गरेका छन् । 

आसन्न प्रतिनिधि सभा निर्वाचनमा आफू धनुषाको निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार भएर चुनावमा जाने सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उनले जानकारी दिएका छन् । 

धनुषाको औरही गाउँपालिका–२ पौरेश्वर बस्ने कारी यादव (मास्टर साहेब) २०२५ सालदेखि मावि स्तरमा प्रथम श्रेणीको शिक्षक भई प्रधानाध्यापकको पदबाट २०७० सालमा अवकाश प्राप्त गरी हालसम्म विभिन्न संघ संस्थामा आवद्ध भई समाजसेवा गर्दै आएका छन् । 



उनले भने, ‘म आफ्नो जीवनको सुरुदेखि कमिशनखोर, भ्रष्टाचार तथा कुशासनको विरोधमा रहेको छु । जुन समाजमा चरितार्थ नै छ । पञ्चायतकालदेखि अहिलेसम्म देशको राजनैतिक परिवर्तन आन्दोलनको हर मोडमा छु । परिवर्तनको आन्दोलनमा धेरै शहीद भए र लाखौं युवा सुन्दर भविष्यको सपनामा आफ्नो जवानी गुमाए । तर उपलब्धी राम्रो भएनन् ।’



‘देशमा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, धार्मिक एवं सामाजिक अवस्था चिन्ताजनक भएको छ । कलकारखाना बन्द भएको छ,’ उनले भने, ‘शिक्षा स्वास्थ्यमा व्यापारीकरण भएको छ । बेरोजगारीले गर्दा लाखौं युवा पलायन हुँदैछन् । हर निकायमा कमिशनखोर र भ्रष्टाचारीको विगविगी छ । डरभर नामको चिज छैन । देश सञ्चालनको निकायहरु पंगु भएका छन् । देश ऋणमा डुब्दै छ । इमान्दार र बुद्धिजीवीको केही खोज छैन । सांसद नाट्यशालामा परिवर्तन भएको छ । पार्टी, नेताहरूको धन कमाउने अखडा भएको छ । देशको आम नागरिकको अवस्था नाजुक भएको छ, विदेशीहरूको प्रभावमा जन इच्छा विरुद्ध धर्म निरपेक्ष गरी हिन्दु राष्ट्र नेपालको नाम परिवर्तन गरेको छ ।’

उनले आफू निर्वाचित भए कमिशनखोर, भ्रष्टाचार र कुशासन तथा धर्म निरपेक्षविरुद्ध गाउँदेखि सदनसम्म जोरदार आवाज उठाउने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

देशमा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, बेरोजगारीको साथै सर्वाङ्गीण विकासका लागि आवश्यक पहल गर्ने, धर्म संस्कृतिको रक्षा गर्दै नेपाललाई हिन्दु राष्ट्रमा पुर्नस्थापना गराउन आवश्यक कदम चाल्ने र धर्म निरपेक्षलाई धर्म सापेक्ष बनाउनुका साथै आफ्नो मुल मुद्दा हिन्दु राष्ट्र नेपाल, भ्रष्टाचार निर्मूल र देश विकास हुने उनको भनाइ छ ।

  • प्रकाशित मिति : असोज ४, २०७९ मंगलबार १०:२४:३६,   अन्तिम अपडेट : असोज ४, २०७९ मंगलबार १०:३१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया