राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने आज अन्तिम दिन

संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएको नागरिकता विधेयकको भविष्य के हुने भन्ने अझै निश्चित भइसकेको छैन । सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको आज १५ दिन पुगेको छ ।

गत २० भदौमा नागरिकता विधेयक शीतल निवास पठाइएको थियो । तर, राष्ट्रपति भण्डारीले भने आफूले केही विषयमा सच्याउनुपर्ने सन्देशसहित विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । तर, प्रतिनिधिसभा र राष्ट्रिय सभाले भने एक अक्षर पनि संशोधन नगरी विधेयक हुबहु पारित गरी फेरि पठाएपछि राष्ट्रपति असन्तुष्ट छिन् । उनले विधेयक ‘होल्ड’ मा राख्ने मनस्थिति बनाएको स्रोतले बतायो ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक १४ दिन बितिसक्दा पनि प्रमाणीकरण नगरेपछि सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास पुगेका थिए । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच डेढ घन्टा लामो छलफल भए पनि विधेयक प्रमाणीकरण हुने कि नहुने भन्ने निश्चित नभएको बालुवाटार स्रोतले बतायो । ‘राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नुहुन्छ भन्नेमा प्रधानमन्त्रीज्यू त्यति विश्वस्त देखिनुभएको छैन,’ कांग्रेसको उच्च स्रोतले भन्यो ।

सत्तारुढ गठबन्धनको शीर्ष नेताको मंगलबार बस्ने बैठकमा नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरे के गर्ने भन्ने विषयमा छलफल हुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जाने चेतावनी दिइसकेका छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे अब आउने नयाँ राष्ट्रपतिले पनि पहिलेकै थिति बसाल्ने र त्यसले कार्यपालिका र शीतल निवासबीच द्वन्द्व सुरु हुने बताएका छन् ।

सत्तारुढ नेपाली कांग्रेसका नेताहरू भने नागरिकता विधेयकबारे खुलेर बोलेका छैनन् । तर, एमालेले भने नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न नहुने धारणा राख्दै आएका छन् ।





  • प्रकाशित मिति : असोज ४, २०७९ मंगलबार १२:२२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया