\
सेती प्रदेशिक अस्पतालमा १० दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई थप उपचारको लागि काठमाडौं लैजाने तयारी सुरु भएको छ ।
अस्पतालले केही दिनअघि नै उनको स्वास्थ्य अवस्था बिग्रिएको र थप उपचारको लागि सुविधासम्पन्न अस्पताल लैजान रिफर गरिसकेको थियो । तर, केसीले भने माग पूरा नभइ अन्य स्थानमा नजाने अडान लिँदै आएका थिए ।
सिनियर डाक्टरहरूले उनलाई आज सम्झाइ बुझाइ गरेपछि काठमाडौं जाने मनस्थितिमा रहेको उनको उपचारमा सम्लग्न एक चिकित्सकले बताए ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले पनि आज उनलाई जसरी पनि काठमाडौं लैजाने बताए । उनले भने, ‘कुन साधनमा लैजाने भन्ने टुङ्गो नलागे पनि उनलाई आज लैजान्छौं ।’
उपचारमा सम्लग्न चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । फोक्सोमा संक्रमण, सुगर लेभल कम, रक्तचाप घटेको चिकित्सकहरूले बताए । यस्तै आमाशयमा पनि रक्तश्राव भएको चिकित्सकहरूले बताएका छन् ।
समग्र स्वास्थ्य शिक्षाको सुधारको माग गर्दै उनी २०औँ पटक अनसनमा बसेका हुन् । उनले यसअघि सरकारले गरेका सहमति कार्यान्वयनमा जोड लिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।