राष्ट्रपति विद्यादेवी भण्डारीको कदम गैर संवैधानिक : अध्यक्ष यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारी गैर संवैधानिक रूपमा अघि बढिरहेको टिप्पणी गरेका छन् । बुधबार हेटौंडामा आयोजित एक समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संसदको दुवै सदनबाट दोस्रो पटक स्वीकृत भई पठाइएको नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेर राष्ट्रपति भण्डारीले संविधानको धज्जी उडाएको बताए । 

‘विधेयकलाई फेरबदल गर्ने अधिकार केवल संसदको हो । राष्ट्रपतिले पुनर्विचारको लागि संसदमा पठाउन पाउने अधिकार मात्रै संविधानले सुरक्षित गरेको छ,’ यादवले भने । संसदको दुवै सदनले पटक–पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लङ्घन गरेको जसपा अध्यक्ष यादवको आरोप छ । 

केपी शर्मा ओलीको सरकारले अध्यादेशमार्फत नागरिकता वितरण गर्ने प्रयास गरेकोमा सर्वोच्च अदालतले यो अध्यादेशबाट नभई कानुन बनाएर नागरिकता दिन भनेको उनले बताए । त्यही अध्यादेश केपी ओलीको सरकारले राष्ट्रपतिसमक्ष पठाउँदा तुरुन्त राष्ट्रपतिबाट प्रमाणीकरण भएर अध्यादेश जारी भएको उल्लेख गर्दै त्यही अध्यादेशलाई हुबहु संसदको दुवै सदनले पटक–पटक पारित गरेर राष्ट्रपतिसमक्ष पठाउँदा राष्ट्रपतिले प्रमाणीकरण नगरेको अध्यक्ष यादवले आरोप लगाए । 

यादवले कार्यक्रमकै क्रममा आज भोलिको निर्वाचन महँगो हुँदै गएको बताए । उनले भने, ‘एउटा स्थानीय तहमा मात्रै करोडौँ खर्च गर्नुपर्ने, हजारौँ कर्मचारी खटाउनुपर्ने भएकाले अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो बनेको छ । अर्थतन्त्रमा गिरावट आइरहेको बेला खर्चिलो निर्वाचन प्रणालीलाई बदल्नुपर्ने छ ।’ उनले अहिले जसपाले गठबन्धन गरेरै प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तयारी गरिरहेको समेत बताए ।





  • प्रकाशित मिति : असोज ५, २०७९ बुधबार १७:२५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया