कैलालीका बाढी प्रभावितको माग : दीगो समाधान खोज्नु पर्छ

कैलालीको भजनी नगरपालिका वडा नम्बर - ८ जनकपुरका मानसिंह चौधरी सडकको बासबाट घर फर्केका छन् । पानीको सतह घटेपछि घर पुगेका उनी घरमा पुगेको क्षतिले चिन्तित थिइन् । ‘भकारी (डेहरी) धान, गहुँ, तोरी, सबै बाढीले क्षति पुगायो’ उनले भने, ‘खेतको धानमा पनि क्षति पुग्यो । सरकारले अब खानलाई रासनको व्यवस्था गर्नुपर्‍यो ।’

भजनी नगरपालिकामा पानीको सतह घट्दै गएपछि विस्थापितहरू धमाधम घर फर्कने क्रम जारी छ । तर, घरभित्र राखिएको अन्नपात बगाएपछि कसरी गुजारा गर्ने भन्ने चिन्ता उनीहरूको छ । यस वर्ष भजनी नगरपालिका सबै वडा प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार सात हजार ७६ घरहरू प्रभावित भएकोमा तीन हजार ३२ परिवारहरू विस्थापित भएका छन् ।

भजनी नगरपालिका वडा नम्बर - ९ की सृजना बमको घरमा नदी पसेपछि सामुदायिक वनभित्र खुल्ला आकाशमा बसेकी छन् । हरेक वर्ष नदीले निम्त्याउने बाढीका कारण त्रसित उनले भनिन । ‘सरकारले दिगो समाधानको योजना ल्याउन आवश्यक छ,’उनले भनिन, ‘यस वर्ष पानीको सतह बढी हुँदा यहाँका सबै घर डुबानमा परे । या त सरकारले उच्च घरको व्यवस्था गर्नुपर्छ । नत्र सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाउनुपर्छ ।’  

उनले यथाशीघ्र बस्ती बचाउने योजना ल्याउन सरकारसँग माग गरे । तत्कालका लागि जैविक तटबन्ध योजना ल्याएर र दिगो रूपमा बस्ती संरक्षण गर्न ‘र्‍याम्प ड्याम’को कार्यक्रम अघि बढाउन सुझाव दिइन् ।

भजनी नगरपालिका कान्द्रा, मोहना र पथरैया नदीका कारण जोखिममा रहेको छ । योसँगै काँडा नदीले पनि सो बस्तीमा असर गर्ने गरेको स्थानीय वीरबहादुर चौधरीले बताए । उनले कटान रोक्न राज्यबाट कुनै पनि पहल नभएको गुनासो गरिन् । भजनी नगरपालिकाले बाढीका कारण पुर्‍याएको क्षतिको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । बाढीका कारण खाद्यान्न, धान बाली, पशुपन्छी लगायतको सम्पूर्णको यकिन तथ्याङ्क सङ्कलन गरी कैलाली प्रशासन कार्यालयमा बुझाउने जनाएको छ । 

तथ्याङ्क सङ्कलनका लागि वडा अध्यक्षको नेतृत्वमा सम्बन्धित वडाका बडघर, भलमन्सा, राजनीतिक दलको सहभागिता गराइने नगरपालिकाले निर्णय गरेको नगर प्रमुख केवल चौधरीले बताए ।  उनले भने, ‘बाढीले सबै वडा प्रभावित भएको छ । मानवीयसँगै घरमा रहेका खाद्यान्न, खेतका धान बाली, घरमा क्षति पुर्‍याएको छ । के कति क्षति भएको छ यकिन गरी सम्बन्धित निकायमा उपलब्ध गराइने छ ।’ उनले बाढीबाट भएको क्षतिको प्रभावितहरु उचित राहत सम्बन्धित निकायले गर्नुपर्ने बताए । 





  • प्रकाशित मिति : असोज ६, २०७९ बिहीबार ११:५१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया