न्युरोडमा व्यापार घट्यो, व्यापारी निराश

दशैँको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा न्युरोडका व्यापारीहरू चिन्तित बनेका छन् । काठमाडौंको असन, न्युरोडका व्यापारीहरु दशैँको मुखमा पनि सोचे अनुसारको व्यापार नहुँदा निराश बनेका हुन् । 

नेपालीहरूको महान् चाड बडा दशैँको समयमा गत वर्षमा ग्राहकहरूको ठेलाठेल हुने असन र न्युरोड बजार अहिले शून्य प्रायः छन् । केही चहलपहल त छ तर सोचेअनुसार को चहलपहल भने हुन नसकेको व्यापारीहरूको गुनासो छ । गत वर्षहरूमा न्युरोड क्षेत्रमा हिँड्नेसमेत ठाउँ नहुने गरेर मानिसहरू किनमेलका लागि आउने गरे पनि यस वर्ष भने कम मात्रै आइरहेको उनीहरूले बताए । 

कोरोना महामारी पछि व्यापार व्यवसायहरु राम्रोसँग फस्टाउन सकेको छैन । साथै नेपालीहरूले पनि आफ्नो महान् चाड कोरोनाकै कारण राम्रोसँग मनाउन सकेका छैनन् । यस वर्ष कोरोना महामारीको असर कम रहे पनि डेंगु सङ्क्रमणका कारण पुनः दैनिक जनजीवन अस्तव्यस्त बनेको छ । 

चाडबाड नजिकिँदै गरिरहेको अवस्थामा देशभर डेंगुका बिरामीहरू दिनप्रतिदिन बढी रहेका छन् । जसका कारण पनि आम मानिसहरू बजारमा त्यत्ति देखिँदैनन् । साथै चाडबाडमा नयाँ लुगा, नयाँ परिकार खानका लागि पनि अनलाइनबाट नै होम डेलिभरी हुनाले भौतिक रूपमा नै उपस्थित भएर सामान किनबेच गर्नेको सङ्ख्या कम हुँदै गएको सहजै आकलन गर्न सकिन्छ । 

कोरोनाका कारण आम मानिसको आर्थिक अवस्था पनि कमजोर भएकाले बजारमा ग्राहकहरूको चहलपहल कम भएको हुनसक्ने  न्यूरोडस्थित कपडा पसलका व्यापारी दिनेश साही बताउँछन्  । उनले विगतका वर्षहरूको तुलनामा यस वर्ष कमै मात्र व्यापार भएको बताए ।

त्यस्तै न्युरोडमा नै जुत्ता, चप्पल व्यापार गर्दै आउनुभएका उद्धव ढुंगेलको पनि भनाइ फरक छैन । चोसे अनुसारको व्यापार नहुँदा पसल भाडा तिर्न पनि हम्मेहम्मे परेको बताए । उनले विगतका वर्षहरूमा हिँड्ने बाटो नहुने न्युरोडमा यस पटक भने खुला भइरहेको अनुभव गरेको बताए ।



दशैँ नजिकिएसँगै व्यापार पनि होला भन्ने सोचले सामान ल्याएको तर ग्राहक नआउँदा आफूहरू अहिले समस्यामा परेको बताए । कोरोना भाइरस र बढ्दो डेंगुका कारण पनि नागरिकहरू घरभित्रै भएकाले पनि दशैँको सामान किन्न खासै बजार निस्किएका छैनन् । ग्राहकलाई आकर्षण गर्न व्यापारीले विभिन्न सामानमा छुटको व्यवस्था गरे पनि त्यसमा ग्राहकको आकर्षण कम देखिएको छ । 



  • प्रकाशित मिति : असोज ७, २०७९ शुक्रबार ११:५४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया