जीवनकुमार प्रसाईंको नयाँ पुस्तक ‘धेरैको धपेडी’ सार्वजनिक

स्वास्थ्य र जीवनशैलीका अन्तरवस्तुलाई केलाएर सुखमय तवरले बाँच्ने सूत्र पस्कँदै आएका लेखक जीवनकुमार प्रसाईं फेरि पाठकमाझ उपस्थित भएका छन् । यसपटक प्रसाईं ‘धेरैको धपेडी’ नामको पुस्तकबाट  पाठकमाझ उपस्थित भएका हुन् ।

बढ्दो उपभोक्तावादले जनस्वास्थ्य, सामाजिक जीवन र वातावरणमा के कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयलाई उठाउँदै यो पुस्तकले यस विषयमा वैज्ञानिक तथ्यहरूलाई सबैले बुझ्नेगरी सरल भाषामा ब्याख्या गरेको छ ।

हामी नेपालीको महान चाड अब एकपछि अर्को गर्दै दैलोमै आइपुगेका छन् । यतिबेला हामी खानपिनदेखि लिएर वस्तुको संकलनमा असाध्यै केन्द्रित हुन्छौं । त्यसमाथि पछिल्लो समय हामीले ‘के’ र ‘कति’ भन्दा पनि ‘सकेसम्म धेरै’ भन्न थालेका छौं । यो ‘धेरै’ले उत्पन्न गर्ने ‘धपेडी’ र त्यसले खोस्दै लगेको हाम्रो सुखमय जीवनकै सेरोफेरोमा पुस्तक प्रवेश गरेको छ ।

जीवनकुमार प्रसाईं संयुक्त राज्य अमेरिकाको बर्मिङघमस्थित युनिभर्सिटी अफ अलावामामा अनुसन्धान अनि अध्यापनमा संलग्न छन् । उनले अढाइ दशकभन्दा बढी समयदेखि जडीबुटी र खाद्यपदार्थमा रहेका पोलीफेनोलको क्यान्सरलगायत जीर्ण रोगहरूको नियन्त्रण तथा उपचारमा हुने असरका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन् । उनले अमेरिकाको नेशनल इन्स्टिच्यूट अफ हेल्थ (एनआइएच) बाट वैज्ञानिक अनुसन्धानका लागि अनुदानसमेत प्राप्त गरेका छन् । खोजीमै आधारित उनका आलेख ‘साइन्स’ लगायत जर्नलहरूमा प्रकाशित छन् । उनले जापानको तोयामा मेडिकल एन्ड फर्मास्युटिकल युनिभर्सिटीबाट औषधि विज्ञानमा विद्यावारिधि गरेका हुन् ।

वैज्ञानिक अध्ययन अनुसन्धानबाट फेला परेका तथ्यहरु क्लिष्ट भाषामा सार्वजनिक भइरहेका हुन्छन् । तिनै कुरालाई हाम्रो मौलिकतासँग जोड्दै सरल भाषामा बुझाउन सक्नु नै लेखक प्रसाईंको विशेषता हो ।

मानव समाज यतिबेला धेरैभन्दा धेरै उत्पादन र उपभोग गरेर जीवन सम्पन्न र सुखी हुन सक्छ भन्ने उपभोक्तावादी सोचतर्फ अग्रसर हुँदै गएको देखेपछि यस विषयमा आफूले जानेका कुरा पाठक समक्ष राख्न चाहेको प्रसाई बताउँछन् ।



उनका अनुसार यो प्रवृत्तिले नै आज मानिस र वातावरण बीचको सन्तुलन पनि खल्बल्याउँदै लगेको छ । यसको परिणाम मधुमेह, हृदय रोग, क्यान्सर जस्ता दीर्घरोगहरू दिन प्रतिदिन महामारीको रुपमा फैलँदै छन् । त्यसैगरि प्रदुषण, ग्लोबल वार्मिङ (वैश्विक उष्णीकरण) अनि वातावरणीय विनाशले संक्रामक रोगहरूमा नियन्त्रण पाउन कठिन हुँदै गइरहेको छ ।

आज जीवनमा सादगीपन घट्दो छ । सम्पदाको दोहन गरेर भए पनि बढीभन्दा बढी सुविधाको जीवन जिउने लालसा बढ्दो छ । खाद्य सुरक्षा बढेकाले मानिसलाई अधिक सेवन गर्न संभव पनि भएको छ । तर, जतिसुकै धेरै सेवन गरे पनि हाम्रो शरीरभित्रको प्रणालीले थोरैलाई मात्र ग्रहण गर्ने सामर्थ्य राख्छ । ग्रहण गरेको पनि खर्च नहुने हो भने त्यसले गुणभन्दा बैगुन बढी गर्छ भन्ने बुझ्न जरुरी छ । यसलाई नबुझ्दा मोटोपन (ओबेसिटी)को महामारी विश्वभर बढ्दो छ ।



प्रसाईका अनुसार पछिल्लो समय अस्पताल र औषधिको पहुँच बढ्दै गएता पनि त्यस अनुसारको आरोग्यता बढ्न सकेको छैन । त्यसमाथि धेरैभन्दा धेरै पैसा पद अनि धन आर्जन र संग्रह गर्ने प्रवृत्तिले सबैको जीवन धपेडीमा छ, असुरक्षाको भय व्याप्त छ ।

‘जीवनको जतन धेरैमा होइन तन, मन र वातावरण बीचको सन्तुलनमा टिकेको हुन्छ,’ लेखक प्रसाई भन्छन्, ‘यो चेतना सँगसँगै सनातनदेखि चलिआएको संस्कृति र सम्पदाको संरक्षण र सम्बर्धन गर्नु आज जरुरी भएको छ ।’
पुस्तकमा यिनै कुराहरु वैज्ञानिक तथ्यका आधारमा आम पाठकलाई चार अध्याय ‘कम हुँदैन थोरै’, ‘जीवनको जतन’, ‘शरीरको सामर्थ्य’ र ‘परम्परा, सम्पदा र स्वास्थ्य’ मार्फत् पस्किने प्रयत्न गरिएको छ ।

‘प्रकृतिमा धेरै अमूल्य कुरा थोरैमा अभिव्यक्त भएको पाइन्छ,’ लेखक प्रसाई अगाडि भन्छन्, ‘त्यसैले थोरैलाई हेला गर्ने वा कम सम्झनु हुँदैन। थोरै नै सार हो जसमा अङ्कुरण अनि प्रस्फुरण हुने तत्वहरु लुकेका हुन्छन् । जब हामी अनावश्यकबाट मुक्त हुन्छौं, हाम्रो भौतिक अनि आत्मिक उन्नती सुरु हुन्छ ।’

लेखक प्रसाईका पुस्तकहरुले पढेर आनन्द लिनुका साथसाथै पालना गर्न सिकाउने गुण पनि बोकेका हुन्छन् । उनले यसभन्दा अघि पनि खानपान, जीवनशैली र वातावरणले हाम्रो स्वास्थ्य जीवनमा पार्ने प्रभावका बारेमा पुस्तक लेखिसकेका छन् । उनका ‘जीवन जिउने काइदा’, ‘सँधै तन्नेरी’ र ‘वरिपरी नै सर्वोपरि’ गरेर तीनवटा पुस्तक यस अगावै पब्लिकेशन नेपालयबाट प्रकाशित भइसकेका छन् ।  

‘सबैको सरोकार जोडिएको भएता पनि यस विषयमा प्रवेश गरेर हामीकहाँ हालसम्म पुस्तक प्रकाशित भएको थिएन,’ पब्लिकेशन नेपालयकी कार्यकारी प्रमुख सैजन मास्के भन्छिन्, ‘पाठक समक्ष बौद्धिक खुराकका साथै समग्र स्वास्थ्य चेतनासमेत पस्कने हिसाबले यो पुस्तक प्रकाशन गरेका हौं ।’

दुइ सय २८ पृष्ठ लामो‘धेरैको धपेडी’  पुस्तकको मूल्य ४२५ रुपैयाँ तोकिएको छ साथै पुस्तक देशका सबै प्रमुख पुस्तक पसलहरूमा उपलब्ध रहने छ । ई-बुकको प्रतिलिपि thuprai.com बाट पनि किन्न सकिन्छ । यो पुस्तक विश्वव्यापी रूपमा भने Amazon मार्फत् उपलब्ध हुनेछ ।

  • प्रकाशित मिति : असोज ७, २०७९ शुक्रबार १२:५४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया