डा.केसीलाई सामाजिक सन्जालमा सुझाव: हारेको नठानौं, जनताका कुरा सुनौं, अनशन तोडौं

काठमाडौं– राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट चिकित्सा शिक्षा विधेयक पारित भइसके पनि डा. गोविन्द केसीले अनसन जारी राखेका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै १६ औँ पटक अनशन बसेका केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । 

२४ दिनदेखि अनशनरत डा. केसीले गत साउनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्झौताअनुसार विधेयक तयार नभएको भन्दै अनसन जारी राखेका हुन् । लम्बिएको केसीको अनसनबारे अहिले सामाजिक संजालमा पनि चर्चा भइरहेको छ ।

डा. केसीको माग विपरित विधेयक पारित भएपछि अनसन अझै लम्बिने संकेत देखिएको छ । अनशन लम्बिएसँगै उनको स्वास्थ्यमा जोखिम देखिने चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जालमा केसीले अनशन तोड्नुपर्ने सुझाव आएका छन् । 

अहिलेलाई स्वास्थ्य जोगाउन भएपनि अनशन तोडेर चिकित्सा क्षेत्र सुधारको लडाईं जारी राख्नुपर्ने भन्दै सामाजिक सञ्जालमा सुझाव आउन सुरु भएको छ ।

केसीले हारेको नठानी अनशन तोड्न आग्रह गर्दै डा. रामेश कोइराला ट्विटरमा लेख्छन् ‘डा. केसी, लगभग माथेमा आयोगअनुसारकै विधेयक राष्ट्रिय सभाबाट पनि पारित भयो । अन्य व्यापारीमैत्री संशोधनको सम्भावना अब रहेन । चि. शि आयोगमा असल उपाध्यक्ष भए त्यो ५ प्रतिशत छिद्रलाई पनि बन्द गर्न गर्न सक्छन् । तपाईको खबरदारी फेरी पनि चाहिन्छ । प्लिज हारेको नठानौं । जनताका कुरा पनि सुनौं, अनशन तोडौं ।’ 



 

नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले पनि डा. केसीलाई अनशन तोड्न सुझाव दिएका छन् । अनशन तोडेर सत्तालाई नैतिकताको पाठ सिकाउनुपर्ने भन्दै भट्टराईले ट्विटरमा लेखेका छन्, ‘सत्यको आग्रह गर्दै आफ्नो ज्यान जोखिममा राख्नसक्नु मानवीय गुणको उच्चतम विन्दु हो, जुन डा. केसीले प्राप्त गरिसक्नु भएको छ । समाज रुपान्तरणको बाँकी कामका निम्ति उहाँ बाँच्न आवश्यक छ । मूर्खदेखि दैव डरा भन्ने लोकोक्ति छ । डा. केसीले अनसन तोडेर मूर्ख सत्तालाई अर्को नौतिक झापड हाने कसो होला !’



 

डा. रविन्द्र समीरले पनि केसीको विग्रदो स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै केसीको जीवनरक्षा माग गरेका छन् । दुई पाइला अघि बढ्न एक पाइला पछि हट्नुपर्ने तर्क दिदै टिव्टरमा उनी लेख्छन, ‘यो विधेयक पास हुनुमा डा. केसीको ठूलो योगदान छ । यो उपलब्धि कार्यान्वयन गराउन तथा बाँकी मागको लागि समेत डा.केसीको आवश्यकता छ । तसर्थ उहाँलाई बचाउन सबै लागौं ।’ 

 

लेखक नयनराज पाण्डे शिक्षाविद केदारभक्त माथेमाले नै डा. केसीलाई सम्झाउँदा उपयुक्त हुने धारणा राखेका छन् । पाण्डेले पनि टिव्टरमा लेखेका छन, ‘अब माथेमा सर गएरै डा.केसीलाई सम्झाउँदा ठीक हुन्थ्यो कि ।’

 


  • प्रकाशित मिति : माघ १८, २०७५ शुक्रबार १३:२७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया