अनसनमा डा. केसीको एक विहान [तस्वीरहरु सहित]

काठमाडौं– इलाममा अनसन सुरु गरेका डा. गोविन्द केसीको स्वास्थ्य बिग्रिएपछि काठमाडौं ल्याइयो । काठमाडौंमा टिचिङ अस्पतालमा आज २४ औं दिनमा डा. केसी अनसनमा छन् । 

प्रतिनिधि र राष्ट्रिय सभा दुवैबाट डा. केसीसँग भएको सम्झौता विपरित र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच चिकित्सा शिक्षा विधेयक पारित भएको छ । यही विधेयक आफूसँग भएको सम्झौता विपरित ल्याइएको भन्दै अनसनमा बसेका डा. केसीले अनसनलाई यथावत् राख्ने बताएका छन् । 

यो डा. केसीको १६ औं अनसन हो । हामीले डा. केसी अनसनमा हुँदा उनको एक विहान कसरी बित्छ त भन्ने थाहा पाउन बिहिबार बिहान उनी अनसनरत अस्पतालमा पुग्यौँ । बिहिबार विहान अस्पतालमा जे देखियोः

बिहिबार विहान काठमाडौंको चिसो निकै बढेको थियो । टिचिङ अस्पतालमा डा. केसी अनसनरत स्थलमा पुग्दा विहानको ६ः२५ बजेको थियो ।

त्यति बेला उनको कोठा शून्य थियो, आवाज थियो त केवल अक्सिजन र मुटुको गति नाप्ने यन्त्रको मात्र थियो । कोठामा मधुरो बत्ती बालिएको थियो, हिटर चलाइएको थियो । 

केसी अनसनरत कोठाको भित्तामा केसी अनसनरत दिनको संख्या जनाउने हस्तलिखित पोस्टर र साइलेन्स प्लिज लेखिएको प्लेकार्ड राखिएको थियो । त्यो विहान केसी अनसनमा बसेको २३ औं विहान थियो । तर, भित्तामा पोस्टरमा २२ औं दिन लेखिएको थियो । यसको अर्थ सहजै बुझ्न सकिन्थ्यो, यो पोस्टर फेर्न अब केही समय कुर्नु पथ्र्यो ।



विहान हामी पुग्दा डा. केसी सुतिरहेका थिए । त्यही कोठामा अरु तीन जना पनि सुतिरहेका थिए ।

७ बज्नै लाग्दा एक चिकित्सक डा. गोविन्द अनसन बसिरहेको स्थलमा पुगे । उनले सुतिरहेका डा. केसीका कुरुवालाई उठाए ।



७ः२५ मा त्यहाँका एक कुरुवाले डा. केसीलाई दिइरहिएको स्लाइन फेरे । उनी केसीका काकाका छोरा किशोर केसी रहेछन् । यसपटकको अनसनमा तेस्रो दिनदेखि प्रत्येक रात किशोरले नै डा. केसीलाई कुरिरहेका छन्, डा. केसीको सरसफाइ र हेरचाहको जिम्मेवारी उनले लिइरहेका छन् ।

किशोरले डा. केसीको स्लाइन फेरे पनि डा. केसी हलचल गरेनन् । किशोरले आफूसँगै सुतेका साथीलाई पनि उठाए, अनि अनसनको दिनको संख्या अर्को कागजमा लेखे र २२ औं दिन भएको ठाउँमा लगेर टाँसे ।

त्यसपछि उनीहरुको गुनगुनले डा. केसीलाई ब्यूँझायो । 

बिहान आठ बजेसम्ममा डा. केसीले एक पटकमात्र आँखा खोले, फेरि सुस्ताए । 

त्यसको केही बेरमा जब एक नर्स भित्र छिरिन्, डाक्टर केसीले चाल पाए । आँखा खोले र नर्सलाई हेरे । 

नर्सले भाइटल्स लिइन्, नर्सलाई सिरानी उठाइदिन डा. केसीले अनुरोध गरे । 

त्यसपछि नर्सले सोधिन्, ‘अहिले कस्तो छ ?’

डा. केसीले जवाफ दिए, टाउको हल्लाएर– ठिकै (?) ।

सवा आठ हुँदासम्म चाहिँ डाक्टर केसीका समर्थकको चहलपहल हुन थाल्यो । उनी अनसन बसिरहेको कोठामा सफासुग्घरको काम सुरु भयो । 

डा. केसीलाई अनसनस्थलमा दुई चिकित्सकले हेरिरहेका छन्, उनको स्वास्थ्यबारे रिपोर्ट बनाइरहेका हुने रहेछन् ।

अनसन बसेका २३ दिन प्रत्येक बिहान डा. केसी ब्रस गर्छन्, केही दिनको ग्यापमा उनको सरसफाइमा किशोरले सहयोग गर्छन् । 

अस्पताल बाहिर चहलपहल विस्तारै बढ्दो छ । तर, डा. केसी अनसन बसेको कोठामा शान्त वातावरण बढ्दो छ । उनको अवस्था हेर्न आएका चिकित्सक र नर्स फर्किसकेका छन् । 

केही समर्थक आएर फर्किएका छन् । सामान्य बेड वा अन्य बिरामीका लागि यो लन्च टाइम हो । तर, डाक्टर केसी अनसनमा छन् । 

कोठा शान्त भएपछि डा. केसीले आफू नजिकै भएको मोबाइल झिके । त्यसपछि डाक्टर केसीको मोबाइलमा बज्न थाल्यो भजन । 

सबै तस्वीरहरु: राेशन सिग्देल


  • प्रकाशित मिति : माघ १८, २०७५ शुक्रबार १४:२९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया