काठमाडौं जस्तो सांस्कृतिक सहरमा विकासको नाममा संरचना भत्काउनु हुँदैन : मन्त्री श्रेष्ठ
फाइल तस्बिर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले काठमाडौं जस्तो सांस्कृतिक सहरमा विकासको नाममा संरचना भत्काउने काम गर्न नहुने बताएका छन् । आइतबार विश्वेश्वर महादेव मन्दिर पुनः निर्माण कार्यको थालनी एवं हनुमान ढोका नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले अत्यधिक महत्त्वपूर्ण रहेको भन्दै बाटो फराकिलो गर्ने नाममा घर भत्काउन नहुने बताए । पहिलेका भौतिक संरचनाहरूको संरक्षण गर्न सके मात्रै सम्पदाको महत्त्व रहने भन्दै उनले काठमाडौंलाई पर्यटकीय नगरी बनाउनुपर्ने बताए  । 

‘काठमाडौं उपत्यकाका तीन जिल्लामा धेरै पर्यटकीय गन्तव्य छन्, त्यसैले काठमाडौंको मोडालिटीलाई हामीले परिवर्तन गरेर जानुपर्छ । शहरका पहिलाका घरहरू जस्ता छन् त्यस्तै राख्नुपर्छ,’ उनले भने, ‘साँघुरो बाटो छ भनेर फराकिलो गर्ने नाममा घर भत्काउने, यसलाई मास्ने कामहरू गर्नुहुँदैन । हिजो जुन खालको यो सहरको बनावट छ, त्यसको अवस्था छ, त्यसको अवस्थालाई संरक्षण र कायम गर्नुपर्छ । त्यसरी नै हामीले यसलाई विश्वमा चिनाउन सक्छौँ ।’ 

मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई दिगो बनाउन मन्त्रालयले पर्यटन दशक घोषणा गरेको र अब क्रमशः देशको पर्यटनको काममा मन्त्रालय लागिपर्ने प्रतिबद्धता जनाए । उनले पर्यटनबाट नै देशमा रोजगारी र आर्थिकोपार्जन हुने भन्दै पर्यटन क्षेत्रलाई थप व्यवस्थित गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘पर्यटन क्षेत्रलाई दिगो बनाउने सन्दर्भमा पर्यटन भ्रमण दशक भनेर घोषणा गरेका छौँ । अब क्रमशः देशको पर्यटनको काम बढ्नेछ, पर्यटनबाट आर्थिकोपार्जन हुनेछ । रोजगारीको लागि कोही पनि मानिस विदेश जान नपर्ने गरी पर्यटन क्षेत्रको विकास गर्नुपर्छ ।’

मन्त्री श्रेष्ठले अहिलेको समाज आधुनिकताको नाम पुराना संस्कृतिलाई भुल्दै जान थालेको बताए । उनले मन्त्रालयले पुरानै शैलीमा संरचनाहरूको स्थापना गर्ने योजना बनाएको बताए । उनले  पर्यटकीय संरचना निर्माणसँगै काठमाडौं उपत्यकालाई नै कसरी पर्यटकीय क्षेत्र बनाउने भन्ने बारेमा पनि मन्त्रालयले योजनावद्ध रूपमा काम गरिरहेको बताए  । उनले पर्यटकीय क्षेत्रमा पर्यटकीय वातावरण बनाउने योजना बनाएर अघि बढ्न नसक्दा पर्यटकहरूलाई भित्र्याउन नसकेको बताए । 

‘अहिले हामी बिस्तारै आधुनिकताको नामबाट हिजोका हाम्रा संस्कृतिहरूलाई भुल्दै गएका छौँ । नयाँ घर निर्माण गर्दा आधुनिक शैली अपनायौँ । जसले गर्दा हिजोको पहिचान मेटिँदै छ,’ उनले भने, ‘हाम्रो उद्देश्य भनेको यसलाई पुरानै शैलीमा लैजानु हो । हिजोका सम्पदाका शैलीलाई त्यही रूपमा स्थापना गर्ने हाम्रो उद्देश्य छ ।’



हनुमान ढोकादेखि स्वयम्भूसम्म २.२ किलोमिटरको सम्पदा मार्ग निर्माण हुँदै छ । पर्यटकहरूलाई शान्तिपूर्ण रूपमा अवलोकन गराउने उद्देश्यले यो सम्पदा मार्ग निर्माण गर्न लागिएको पनि मन्त्री श्रेष्ठले बताए । यो सम्पदा मार्गमा ट्रेल सञ्चालन हुने र सांस्कृतिक सम्पदा झल्काउने, जन्मदेखि मृत्युसम्मका संस्कार हेर्न सकिने उल्लेख गरे  । 

बाटोमा सबै घरहरू पुरानै शैलीमा जाओस् भन्ने योजना बनाएका बताएको उनले सुनाए । ‘एसियाली विकास बैंकले यसमा अध्ययन गरेर संलग्न हुन चाहन्छौँ भन्ने कुरा राख्नुभएको छ, यो एउटा नयाँ सम्भावना छ । हामीले पनि हाम्रो पहुँचबाट कसरी अघि बढाउनुपर्छ भनेर सोचेका छौँ । यो काम निरन्तर अघि बढ्दै जानेछ । महानगर र आम नागरिकको सहयोग चाहिन्छ,’ मन्त्री श्रेष्ठले भने, ‘निर्माणसँगै यो सिङ्गो क्षेत्रलाई नै पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने सम्भावना देखिएको छ । हामीले चासो नदिएका कारण पर्यटनलाई बढाउन सकेका छैनौँ । पर्यटकीय क्षेत्रमा पर्यटकीय वातावरण बनाउने योजना बनाएर जान सकेनौँ ।’



  • प्रकाशित मिति : असोज ९, २०७९ आइतबार ११:३९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया