राजेन्द्र लिङ्देनको प्रस्ताव - संघ र स्थानीय सरकार बलियो पारौँ, प्रदेश खारेज गरौँ
फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कम्युनिस्ट र कांग्रेसका केही नेताले देशलाई चक्रब्युमा पारेको आरोप लगाएका छन् । ०४६ सालको राजनैतिक परिवर्तनपछि मुट्ठीभरका केही नेताले देशको हालत दयनीय बनाएको उनको दाबी छ । 

शनिबार महोत्तरीको बर्दिबासमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता लिङ्देनले नेताहरूले नेपालको निर्णायकत्व विदेशीलाई सुम्पेको र विदेशीको चाहनाअनुसार सरकार चलेको समेत आरोप लगाए ।

वामपन्थी र कांग्रेस नेताका कारण नेपाल शक्ति राष्ट्रको क्रिडास्थल बनेकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने, 'हामीलाई विदेशी सँगको मित्रता स्वीकार्य छ । तर, हस्तक्षेप स्वीकार्य छैन ।' राजालाई अर्बाैँ रुपैयाँ स्वीट्जरल्याण्डमा राखेको आरोप लगाउने नेताहरूले अहिले स्वीटजरल्याण्डमा ७० अरब रुपैयाँ राखेकोसमेत उनको दाबी छ ।

याे व्यवस्थाबाट देश भ्रष्टाचारको दलदलमा फसेको र यसकाे संरक्षण कर्ता पनि नेताहरू रहेकाे बताए । `सामान्य जागीर खानका लागि घुस खुवाउनुपर्छ, समाजले पनि घुस्यालाई राम्रो मान्छ,´ उनले भने । उनले प्रदेशलाई खारेज गर्नुपर्ने बताए ।

संघ र स्थानीय सरकारलाई सशक्त बनाए प्रदेशको जरुरत नै नपर्ने उनको सुझाव छ । वामपन्थी र कांग्रेसले गरेका गलत काम पर्दाफास हुने डरले नयाँ शक्तिलाई स्थापित हुन नदिएको अध्यक्ष लिङ्देनले दाबी गरे ।

देशलाई घात गर्न नेताहरूले केही बाँकी नराखेको बताउँदै अध्यक्ष लिङ्देनले भने, 'यिनीहरूले स्वास्नी मान्छेलाई लोग्ने र लोग्ने मान्छेलाई स्वास्नी बनाउन सक्दैनन् । बाँकी जे पनि गर्छन् र गरिसके ।'



नेपाली राजनीतिको तीन दशकलाई सम्झँदै नेपाली जनताले सबै दललाई अवसर दिए पनि नेताहरूले पैसा कमाउने थलो मात्र बनाएको उनको टिप्पणी छ । शेरबहादुर देउवा ६ पटकसम्म प्रधानमन्त्री भएको उदाहरण दिँदै परिवर्तनको नाममा केही पनि नभएको अध्यक्ष लिङ्देनको भनाइ छ । 



  • प्रकाशित मिति : असोज ९, २०७९ आइतबार १४:२८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया