आज घटस्थापना, घरघरमा जमरा राखिँदै

नेपालीहरूको महान चाड बडादसैं आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर आश्विन शुक्ल पूर्णिमासम्म १५ दिने धुमधामसँग मनाइने दसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना गरिँदैछ ।

घरको पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ ।

आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौं रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ ।

आजदेखि नौ दिनसम्म देवीको आराधना गरी १० औं दिन विजया दशमीको दिन प्रसाद मानेर जमरा लगाउने गरिन्छ । घटस्थापनाको साइत बिहान १०ः२३ मिनेटमा तय गरिएको छ । बिहान ९ः१५ देखि १०ः२३ सम्मको समय घटस्थापनाको लागि शुभ समय निर्धारण गरिएको छ ।

केही व्यक्तिले सामूहिक र देवी मन्दिरमा पनि घटस्थापना गर्ने गर्दछन् । आजदेखि नौ दिनसम्म महाकाली, महालक्ष्मी, र महासरस्वती माताको विशेष आराधना गर्ने गरिन्छ ।

आजदेखि उपत्यका र देशभरका देवी मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । काठमाडौंको गुह्येश्वरी, दक्षिणकाली र उपत्यकाभित्रका देवी मन्दिरमा दर्शनार्थी परिक्रमा दर्शन गर्ने गर्दछन् ।





  • प्रकाशित मिति : असोज १०, २०७९ साेमबार ६:४८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया